काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कारका विजेता घोषणा गरेको छ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले पुरस्कार घोषणा गरेका हुन् ।
विभागका अनुसार साउन १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागी उपभोक्तामध्ये गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट रु ३५० को सामान खरिद गर्ने उपभोक्ताले रु १० लाखको बम्पर प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
साउन दोस्रो पाक्षिकमा कुल १७ जना विजेता छनोट भएका छन् । त्यसमध्ये १६ जनाले रु एक लाखका दरले पुरस्कार पाएका छन् भने एक जनाले रु १० लाखको बम्पर पुरस्कार प्राप्त गरेका छन् । एक लाख पुरस्कार पाउने १६ जनाको घोषणा अर्थमन्त्री वाग्लेले गरेका थिए । बम्पर पुरस्कार भने यसअघिका विजेता हेमराज जोशी र उनकी पत्नी तुलसी पन्तले घोषणा गरेका हुन् ।
विभागका अनुसार करदाता प्रोत्साहन कार्यक्रम सुरु भएको पहिलो महिनामै सहभागी उपभोक्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । साउन १६ देखि ३१ गतेसम्म मात्रै तीन लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल पुरस्कारका लागि अपलोड भएका छन् ।
यसअघि साउनको पहिलो १५ दिनमा पुरस्कारका लागि बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या सात हजार ७७ मात्र रहेको थियो । दोस्रो पाक्षिकमा यो सङ्ख्या उल्लेख्य रूपमा बढेको विभागले जनाएको छ ।





प्रतिक्रिया