माछापुच्छ्रे बैंकको नायब सीईओमा कल्याण विक्रम पाँडे


काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडले कल्याण विक्रम पाँडेलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ। पाँडेलाई साउन २९ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त गरिएको बैंकले जनाएको छ।

बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका पाँडे यसअघि ग्लोबल आईएमई बैंक, साविकको जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी बैंकलगायतका विभिन्न बैंक तथा वित्तीय संस्थामा महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेका छन।

पाँडेसँग योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार बैंकिङ, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन तथा अनुपालन, ट्रेड फाइनान्स तथा ट्रान्जेक्सन बैंकिङलगायतका क्षेत्रमा गहिरो अनुभव रहेको बैंकले जनाएको छ।

त्यसैगरी, मर्जर, एक्विजिसन तथा एकीकरण, वित्तीय विश्लेषण तथा उत्पादन विकास, दिगो तथा हरित बैंकिङलगायतका क्षेत्रमा समेत उनले महत्वपूर्ण अनुभव हासिल गरेका छन।

पाँडेले बंगलौर विश्वविद्यालयबाट वित्त विषयमा एमबीए प्रथम श्रेणीमा तथा अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा अनर्ससहित बी–टेक उपाधि हासिल गरेका छन।

नेतृत्व क्षमता तथा नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेको नियुक्तिसँगै बैंकको दीर्घकालीन बैंकिङ अनुभर वित्तीय विशेषज्ञताको उपयोग गर्दै व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार तथा रणनीतिक लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार  ०९ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।