काठमाडौँ । वाणिज्य बैंकहरूको मर्जर तथा प्राप्तिले बैंकको पूँजीकोषको आकार बढाएपनि त्यसको प्रभाव साख मूल्यांकनमा भने सकारात्मक देखिएको छैन । पछिल्ला पाँच वर्षको साख मूल्यांकनमा मर्जर तथा प्राप्तिबाट बनेका केही ठूला बैंकको साख घटेको देखिएको हो भने केही बैंक लामो समयदेखि नकारात्मक निगरानीमा परेका हुन् ।
इक्रा नेपालले आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्मको साख मूल्यांकन समेटेर तयार पारेको विवरणअनुसार नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक र प्रभु बैंकको साख मूल्यांकन पाँच वर्षको अवधिमा कमजोर भएको छ । लक्ष्मी सनराइज बैंकको साख भने ‘बीबीबी’मा स्थिर रहे पनि पछिल्ला तीन आर्थिक वर्षदेखि नकारात्मक निगरानीमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मर्जरबाट बनेका बैंकको साखमा देखिएको यो दबाबलाई खराब कर्जा वृद्धि, सम्पत्तिको गुणस्तरमा आएको कमजोरी, बढ्दो रकम छुट्याउनुपर्ने खर्च, पूँजीमा परेको दबाब र कमजोर नाफा क्षमतासँग जोडेर हेर्नुपर्ने देखिएको प्रतिवेदनको भनाई छ । इक्रा नेपालका अनुसार बैंकिङ क्षेत्रमा खराब कर्जाको दबाब पछिल्ला वर्षमा निरन्तर बढिरहेको छ ।
नबिलमा नेपाल बंगलादेश गाभिएपछि साख दुई तह घट्यो
नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेर ठूलो बनेको नबिल बैंकको साख पाँच वर्षमा दुई तह कमजोर भएको छ । आर्थिक वर्ष २०७८/७९ मा ‘एए माइनस’ रहेको नबिल २०७९/८० मा पनि सोही तहमा रहे पनि नकारात्मक निगरानीमा परेको थियो । त्यसपछि २०८०/८१ मा ‘ए प्लस’ र २०८१/८२ मा ‘ए’मा झरेको बैंक २०८२/८३ मा पनि ‘ए’मै कायम भएको इक्राको अध्ययनले देखाएको छ ।
नबिलले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरी २०७९ सालमा संयुक्त कारोबार सुरु गरेको थियो । यसरी प्राप्तिपछि बैंकको कारोबारको आकार बढे पनि साख मूल्यांकनमा भने गिरावट आएको देखिन्छ ।
ग्लोबल आइएमईमा धेरै संस्थाको एकीकरण, साखमा दबाब
ग्लोबल आइएमई बैंकको विस्तार भने एकभन्दा बढी मर्जर तथा प्राप्तिबाट भएको देखिन्छ । पछिल्लो ठूलो एकीकरण बैंक अफ काठमाण्डूसँग भएको थियो । त्यसअघि पनि ग्लोबल आइएमईले विभिन्न बैंक तथा वित्तीय संस्थालाई आफूमा समेट्दै आएको थियो ।
इक्राको पाँच वर्षे विवरणमा ग्लोबल आइएमईको साख आर्थिक वर्ष २०७८/७९ मा ‘ए माइनस’बाट ‘ए’सम्म पुगेको देखिए पनि त्यसपछि ‘ए’को नकारात्मक निगरानीमा परेको देखिन्छ । आर्थिक वर्ष २०८१/८२ मा ‘ए माइनस’मा झरेको बैंक २०८२/८३ मा पनि ‘ए माइनस’ मै कायम छ ।
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले एकीकृत कारोबार सुरु गरेपछि बैंकको पूँजी, निक्षेप, कर्जा र कुल सम्पत्तिको आकार उल्लेख्य रूपमा बढेको प्रतिवेदनले उल्लेख गरेको छ ।
मेगा बैंक गाभिएपछि बनेको नेपाल इन्भेस्टमेन्ट मेगा
नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीचको मर्जरबाट नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बनेको थियो । दुवै बैंकले २०७९ माघदेखि संयुक्त कारोबार सुरु गरेका थिए । इक्राका अनुसार आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा ‘ए’ रहेको बैंक मर्जरको अवधिमा अनिश्चित निगरानीमा थियो । त्यसपछि ‘ए’को नकारात्मक निगरानीमा रहेको बैंक आर्थिक वर्ष २०८२/८३ मा ‘ए माइनस’मा झरेको छ ।
एनसीसी गाभेको कुमारीको साखमा उच्च गिरावट
कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंकबीच मर्जर भएर कुमारी बैंककै नाममा संयुक्त कारोबार सुरु भएको थियो । मर्जरपछि बनेको बैंकको साख मूल्यांकन भने पाँच वर्षमा सबैभन्दा धेरै कमजोर भएको देखिन्छ । आर्थिक वर्ष २०७८÷७९ मा ‘बीबीबी प्लस’ रहेको कुमारी बैंक त्यसपछि ‘बीबीबी’, ‘बीबीबी माइनस’ हुँदै २०८१/८२ मा ‘बीबी प्लस’मा पुगेको थियो । २०८२/८३ मा पनि बैंकको साख ‘बीबी प्लस’मै कायम रहेको छ ।
सेञ्चुरी प्राप्तिपछि प्रभु बैंक पनि दबाबमा
प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि २०७९ माघदेखि संयुक्त कारोबार सुरु गरेको थियो । तर त्यसपछिको साख मूल्यांकनमा बैंक दबाबमा देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा ‘बीबीबी’ रहेको प्रभु बैंक २०७९/८० मा पनि ‘बीबीबी’मै कायम रहेको थियो । त्यसपछि नकारात्मक निगरानी हुँदै ‘बीबीबी माइनस’मा पुगेको बैंक आर्थिक वर्ष २०८२/८३ मा ‘बीबी प्लस’मा कायम भएको छ ।
लक्ष्मी र सनराइज गाभिए, साख निगरानीमा
लक्ष्मी बैंक र सनराइज बैंकको मर्जरबाट लक्ष्मी सनराइज बैंक बनेको हो । दुवै बैंकले २०८० साउनदेखि संयुक्त कारोबार सुरु गरेका थिए ।
मर्जरपछि लक्ष्मी सनराइजको साख भने अन्य बैंकको जस्तो लगातार घटेको छैन । आर्थिक वर्ष २०७८/७९ मा ‘बीबीबी प्लस’ रहेको बैंक २०७९/८० मा ‘बीबीबी’मा आएको थियो । त्यसयता ‘बीबीबी’मै कायम रहेको छ । तर आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ मा ‘बीबीबी’ साख नकारात्मक निगरानीमा रहेको छ ।
हिमालयन बैंकमा सिभिल बैंक गाभियो
यसै अवधिमा हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेको थियो । २०७९ फागुनदेखि हिमालयन बैंककै नाममा संयुक्त कारोबार सुरु भएको थियो । तर इक्रा नेपालको पाँच वर्षे साख संक्रमण तालिकामा हिमालयन बैंकको साख मूल्यांकन समावेश गरिएको छैन ।
बैंकको खराब कर्जा चार गुणाभन्दा बढी
मर्जरपछि बैंकहरूमा देखिएको साख दबाबलाई समग्र बैंकिङ क्षेत्रको खराब कर्जाको अवस्थाले पनि पुष्टि गर्छ । इक्रा नेपालका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १.२० प्रतिशत रहेको वाणिज्य बैंकहरूको कुल खराब कर्जा २०८२ सम्म ५.४१ प्रतिशत पुगेको छ ।
धेरै बैंकमा कुल कर्जाको १५ देखि २५ प्रतिशतसम्म कर्जा ढिलो भुक्तानीको अवस्थामा रहेको र ४ देखि ८ प्रतिशतसम्म कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएको अध्ययनले देखाएको छ । नियामकीय सहुलियत घट्दै जाँदा यस्ता कर्जाको केही हिस्सा भविष्यमा खराब कर्जामा परिणत हुन सक्ने जोखिमसमेत रहेको प्रतिवेदनमा उल्लेख छ ।
खराब कर्जाले पूँजी र नाफामा असर
खराब कर्जा बढेपछि बैंकले त्यसविरुद्ध रकम छुट्याउनुपर्ने हुन्छ । यसले नाफा घटाउनुका साथै बैंकले आफ्नै आम्दानीबाट पूँजी थप्ने क्षमतालाई समेत कमजोर बनाउँछ ।
इक्रा नेपालका अनुसार बढ्दो खराब कर्जा र त्यसविरुद्धको रकम छुट्याउनुपर्ने खर्चका कारण अधिकांश बैंकको पहिलो तहको पूँजीमा कमी आउनुका साथै नियामकीय न्यूनतमभन्दा माथिको अतिरिक्त पूँजी पहिलेको तुलनामा साँघुरिएको छ ।
यसैगरी खराब कर्जा बढ्दा त्यसको व्यवस्थापनको लागि छुट्याउनुपर्ने रकम बढेको र कर्जाको ब्याजबाट हुने आम्दानीमा आएको दबाबले बैंकको सञ्चालन नाफा पनि प्रभावित भएको छ । इक्राका अनुसार आगामी दिनमा बैंकको नाफाको आधार कर्जा असुलीमा हुने प्रगति र थप कर्जा बिग्रन नदिन सक्ने क्षमतामा निर्भर हुनेछ ।
साख स्थिर राख्न सफल बैंक
मर्जर तथा प्राप्तिबाट बनेका केही बैंकको साखमा दबाब देखिँदा केहि बैंकको अवस्था भने फरक देखिएको छ । नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म ‘एए’ साख कायम राखेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले सोही अवधिमा ‘एएए’ साख कायम राखेको देखिन्छ ।
बैंकको आकार मात्र ठूलो हुँदैमा साख बलियो नहुने प्रतिवेदनको भनाई छ । मर्जरपछि थपिएको कर्जा र सम्पत्तिको गुणस्तर जोगाउने, खराब कर्जा नियन्त्रण गर्ने, पर्याप्त पूँजी कायम राख्ने, नाफा बढाउने र जोखिम व्यवस्थापन गर्न सक्ने क्षमता नै बैंकको दीर्घकालीन साखका लागि महत्वपूर्ण हुने इक्राको अध्ययन प्रतिवेदनले स्पष्ट पारेको छ ।





प्रतिक्रिया