चालु आर्थिक वर्ष ८४ प्रतिशतले घट्यो वैदेशिक लगानी प्रतिवद्धता


काठमाडौँ । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता घटेको छ । साउन महिनामा ३ अर्ब ७७ करोड २८ लाख ८४ हजार रुपैयाँ प्रतिवद्धता आएको छ । जुन गत वर्षको सोही अवधीको तुलनामा ८४.३४ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधीमा २४ अर्ब १० करोड ४९ लाखको प्रतिबद्धता आएको थियो ।

यस वर्ष उद्योग विभागको तथ्यांक अनुसार साउनमा १९१ उद्योगहरुमा उक्त लगानी प्रतिबद्धता आएको हो । साउनमा रकमका आधारमा सबैभन्दा बढी पर्यटनमूलक उद्योगमा प्रतिवद्धता आएको छ । एक महिनामा पर्यटनमुलक उद्योगमा १ अर्ब ६३ करोड ७८ लाख ५० हजार रुपैयाँ बराबर प्रतिवद्धता आएको छ ।

त्यस्तै, उद्योग संख्यामा भने सबैभन्दा बढी सूचना प्रविधि (आइटी) क्षेत्रमा रहेको छ । आइटी क्षेत्रका १२८ उद्योगका लागि ५६ करोड ९८ लाख ३४ हजार रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ । उत्पादनमूलक क्षेत्रका ९ उद्योगमा ८४ करोड ३२ लाख रुपैयाँ र सेवामूलक क्षेत्रमा १९ उद्योगका लागि ६८ करोड २० लाख रुपैयाँ प्रतिवद्धता आएको छ ।

एक महिनाको अवधीमा १८८ वटा साना उद्योग, २ वटा मझौला र १ ठूला उद्योगमा लगानी प्रतिवद्धता रहेको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार  १६ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।