काठमाडौँ । भदौ ९ गतेदेखि सुरु हुन गइरहेको १८ औँ संस्करणको नाडा अटो सोमा विभिन्न ब्राण्डले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने भएका छन्।
यो वर्षको अटो सोमा नेपाली श्रम, सीप र पुँजीमा तयार भएको ब्राण्ड यात्रीले पहिलो ‘मेड इन नेपाल’ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्दैछ। यात्री बाहेक पनि अटो सोमा सहभागी अन्य ब्राण्डले नयाँ उत्पादन बजारमा उतार्ने तयारी थालेका छन्। नाडा अटो सोमा ११ कम्पनीका १३ ब्राण्डले दुई पाङ्ग्रे साधन प्रदर्शनीमा राख्नेछन्। जहाँ ढेड दर्जन बढी नयाँ उत्पादन अबलोकन गर्न सकिनेछ।
नेपालमै बनेको ‘यात्री पी टु’ सबैभन्दा ठूलो आकर्षण हुने देखिन्छ। सिप्रदी यात्री प्रालिले ‘यात्री पीटु स्कुटर’ नाडा अटो सोबाटै बिक्री थाल्नेछ। नेपालमै उत्पादन गरिएको उक्त स्कुटर ‘नाडा अटो सो’को ‘मेड इन नेपाल’ पभिलियनमा देख्न पाइनेछ।
एमएडब्लू राइज प्राइभेट लिमिटेडअन्तर्गतको यामाहा नेपालले यामाहा एक्सएसआरसहित चार नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले अटो सो अबलोकनकर्ताको लागि आफ्नो स्टल निकै आकर्षक बनाइरहेको जनाएको छ। नयाँ उत्पादनको मूल्य लगायतका जानकारी अटो सोको पहिलो दिन नै उपलब्ध हुनेछ।
सीजी मोटर्सले हिरो ब्रान्डका तीन नयाँ मोडल प्रदर्शनी राख्ने जनाएको छ। कम्पनीले १६० सीसीको जुम स्कुटर, १२५ सीसीको ग्ल्यामर एक्स मोटरसाइकल र २५० सीसीको एक्सट्रिम मोटरसाइकल नाडा अटो सोबाट बिक्री थाल्दैछ। सीजी मोटर्सकै विद्युतीय ब्रान्ड भिडाले भीएक्स जेड स्कुटर र केथ्री डट मिनी मोटरसाइकल पनि प्रदर्शनी गर्ने जनाएको छ।
मिचे अटो नेपाल प्रालिले पाँचवटा नयाँ मोडल सार्वजनिक गर्ने जनाएको छ। कम्पनीले पाँचवटा विद्युतीय स्कुटरसहित अटो सोमा आफ्नो उपस्थिति बलियो बनाउने योजना तयार पारेको हो। मिचे अटोले नेपालमै विद्युतीय दुई पाङ्ग्रे साधन एसेम्बलिङ गर्दै आएको छ।
रोयल इनफिल्डको आधिकारीक बिक्रेता अल्फा अटोमोटिभले अटो सोमा नयाँ मोडल सार्वजनिक गर्दैछ। कम्पनीले दुई दिन अगाडि बजारमा ल्याएको नयाँ क्लासिक मोडल अटो सोमा प्रदर्शनीको लागि राख्ने भएको हो। यो वर्षको नाडा अटो सोमा अन्य दुई पाङ्ग्रे ब्राण्डहरु क्यूजे मोटर्स, जोनसेन, भेस्पा, अप्रिलिया, रोयल इनफिल्ड, एम्पियर, रिभोल्ट र मेटा ईभी लगायतले सक्रिय सहभागिता जनाउँदैछन्।





प्रतिक्रिया