गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी


न्युयोर्क । संयुक्त राष्टसङ्घले गाजाको युद्धविराम नाजुक भएको उल्लेख गर्दै इजरायली कब्जामा रहेको वेस्ट ब्याङ्क क्षेत्रको अवस्था बिग्रदै गएको चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष समन्वयकर्ता रमिज अलक्बरोभले गाजाका बासिन्दाहरूले असहनीय अवस्था र अत्यधिक पीडाको सामना गर्नुपरेको उल्लेख गरेका छन् । उनले यद्धविराम पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

उनले अवैध कब्जाको अन्त्य गर्ने, प्यालेस्टिनी आत्मनिर्णयलाई महसुस गर्ने र दुई–राज्यबीचका समस्याको समाधानलाई अगाडि बढाउने राजनीतिक तथा कुटनैनिक प्रक्रियाको लागि मार्ग प्रशस्त गर्नु पर्ने कुरामा जोड दिएका छन् ।

उनले सुरक्षा परिषद्को प्रस्ताव –२८०३ को तत्काल कार्यान्वयनका लागि पनि आग्रह गरेका छन् ।

अलक्बरोभले गाजामा स्वास्थ्य सेवा, सरसफाई र फोहोर व्यवस्थापन लगायत आवश्यक सेवाहरू पुनस्र्थापना गर्नुपर्ने कुरामा जोड दिँदै मानवीय आपूर्तिमा निरन्तर प्रतिबन्ध तथा अपर्याप्त कोषको चेतावनी दिएका छन् ।

उनले वेस्ट ब्याङ्क क्षेत्रमा, बसोबास गर्दै आएका निर्दोष मानिसहरुमाथि गर्ने आक्रमण र गैर–जवाफदेहिताको निन्दा गर्दै इजरायललाई नागरिकहरूको सुरक्षा गर्न र अपराधीहरूलाई जवाफदेही बनाउन आग्रह गरेका छन् ।

इजरायली अधिकारीहरूले पूर्वी जेरुसेलमको युएनआरडब्लुए प्रशिक्षण केन्द्रमा जबरजस्ती प्रवेश गरेको रिपोर्टको निन्दा गर्दै उनले युएनआरडब्लुएका सुविधाहरू कब्जा गर्ने वा नियन्त्रण गर्ने प्रयासहरू अन्त्य गर्न आह्वान गरेका छन् ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  ११ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।