बाढीबाट क्षतिग्रस्त पूर्वाधारको मूल्यांकनका लागि सबै ड्रोन प्रयोग गरौं : ऊर्जामन्त्री श्रेष्ठ


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढी प्रभावित क्षेत्रमा ड्रोन टेक्नोलोजी प्रयोग गरेर क्षतिको मूल्यांकन गर्नुपर्ने बताएका छन् ।

शनिबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा आवश्यक स्रोत साधन जुटाउनमा केन्द्रित हुन निर्देशन दिए । ‘फिल्डमा के आवश्यक पर्छ, त्यो स्रोतसाधनहरु जुटाउनेगरी प्राधिकरणको स्कोप अगाडि बढाउनुपर्छ,’ उनले भने ।

मन्त्री श्रेष्ठले ड्रोन टेक्नोलोजी प्रयोग गरेर र्यापिड ड्यामेज एसेसमेन्ट लिनेगरी त्यसमा लाग्न निर्देशन दिए । ‘सबै प्राइभेट ड्रोनदेखि एनइए इन्जिनियर्सको ड्रोन पनि प्रयोग गरेर हाइड्रो पावर लगायत सबै बगेका बस्तीहरु र क्षति पुगेका पूर्वाधारहरुको चाँडै क्षति मूल्यांकन गरेर राष्ट्रिय योजना आयोगमार्फत पोस्ट डिसास्टर निड एसेसमेन्ट गर्नुपर्छ,’ उनले भने ।

मन्त्री श्रेष्ठले विभिन्न १४ वटा निकायका प्रतिनिधि सहभागी बैठकमा अबको तीन दिन, सात दिन र एक महिनाको योजना बनाएर अगाडि बढ्न निर्देशन दिए । आधिकारिक सञ्चारमा एकद्वार प्रणाली अपनाउन पनि निर्देशन दिए ।

मन्त्री श्रेष्ठकाअनुसार पूर्वाधार मन्त्रालय र ऊर्जा मन्त्रालय मिलेर डिटेल ड्यामेन्ट निड एसेसमेन्ट गरिरहेका छन् । यसमा मन्त्री श्रेष्ठको सचिवालय सक्रिय रहेको छ ।

मन्त्री श्रेष्ठले यो विषम परिस्थितिमा उच्च मनोबलका साथ काम गर्न निर्देशन दिँदै प्राधिकरण र सरकार पक्षले जनताको अभिभावकको भूमिका अझै प्रगाढ रुपमा निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।