महाकालीमा पानीको बहाव वर्षकै उच्च


महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव यो वर्षकै उच्च विन्दुमा पुगेको छ ।

मंगलबार बिहान नदीमा पानीको बहाव एक लाख १२ हजार क्युसेक रहेको थियो । बेलुकी ९ बजे गरिएको मापनअनुसार पानीको बहाव एक लाख ८१ हजार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

“बेलुकी ६ बजेको मापनमा जलस्तर बढेर एक लाख ८७ हजार २३२ क्युसेक थियो । अहिले एक लाख ८१ हजारमा झरेको छ,” उनले भने, “पानीको बहाव बढेसँगै आज दिनभर बनबासा पुलमा चारपाङ्ग्रे सवारी चल्ने सकेनन् ।”

महाकाली नदीमा जलस्तर एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ ।

एक सय वर्ष पुरानो बनबासा पुल जीर्ण भएकाले जोखिम हुने भन्दै बर्सातका बेला पानीको बहाव बढ्दा ठूला सवारी साधनलाई रोक लगाउनु परेको भारतीय पक्षको भनाइ छ । 

सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी र डडेल्धुराका साथै भारतको उत्तराखण्डको माथिल्लो भेगमा वर्षा हुँदा महाकालीमा जलस्तर बढ्ने गरेको छ ।

प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार  ०६ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।