काठमाडौँ । भोटेकोशी बाढीबाट क्षतिग्रस्त बैंकका शाखाहरूमा १९ करोड रुपैयाँ नगद रहेको पाइएको छ । बाढीले क्षतिग्रस्त बनाएको रसुवा, नुवाकोट र धादिङमा रहेका १२ बैंकका १७ शाखा, एटिएम र काउन्टरमा समेत गरी कुल १९ करोड ५८ लाख ९२ हजार ६९ रुपैयाँ रहेको नेपाल बैंकर एसोसिएसनले जनाएको छ ।
बाढीका कारण कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, सानिमा बैंकका एक–एक शाखा कार्यलयमा क्षति पुगेको छ । त्यसैगरी प्रभु बैंकका दुई र एनआइसी एसिया बैंक तथा नेपाल इन्भेस्टमेन्ट बैंकका ३ शाखा कार्यलयमा क्षति पुगेको छ ।
बाढीले १७ शाखामध्ये १६ शाखामा पूर्ण क्षति पुर्याएको छ । हालसम्म दुईबाहेक कुनै पनि शाखाको भल्ट समेत भेटिएको छैन ।
बैंकर्स एसोसिएसनको तथ्यांकले बाढीबाट क्षतिग्रस्त बैंक शाखाका भल्टमा १७ करोड २४ लाख ५७ हजार, एटिएममा एक करोड १६ लाख ६३ हजार र काउन्टरमा एक करोड १७ लाख ७१ हजार रुपैयाँ रहेको देखिएको छ ।
हालसम्म कृषि विकास बैंकको भल्ट मात्रै भेटिएको छ जसमा एक करोड ७१ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, अर्को एउटा भल्ट धादिङको गल्छीमा भेटिएको थियो । तर, भल्ट भेटाउने समूहले सरकारलाई नबुझाई नगद झिकेर बाँडफाँट गरेको थिए । जसले उक्त भल्टमा कति रकम थियो यकिन भएको छैन ।
यता, बाढीले बैंकका भौतिक संरचना र नगदमा मात्रै नभई स्थानीय सर्वसाधारणको बैंकिङ पहुँच तथा वित्तीय कारोबारमा समेत प्रभाव पारेको छ ।
हालसम्मको तथ्यांकले कृषि विकास बैंकको क्षति सबैभन्दा बढी रहेको छ । बाढीबाट बैंकका शाखाहरूमा साढे ५५ करोड रुपैयाँ बराबरको भौतिक क्षति पुगेको प्रारम्भिक अध्ययनले देखाएको छ । बैंकका शाखाहरू पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ५५ करोड ६८ लाख ७० हजार रुपैयाँ बराबरको सम्पत्ति क्षति पुगेको अध्ययनले देखाएको हो । यसमध्ये आफ्नै भवन रहेको उक्त बैंकलाई ५० करोड रुपैयाँ बराबरको क्षति पुगेको हो ।
त्यस्तै, सबैभन्दा कम एनएमबि बैंकको शाखामा देखिएको छ । रसुवाको गोसाईँकुण्ड गाउँपालिकामा रहेको उक्त शाखामा दुई लाख ७५ हजार रुपैयाँबराबरको क्षति पुगेको हो । सिटिजन्स बैंकमा एक करोड २० लाख १७ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ । बाढीबाट नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका तीन शाखामा क्षति पुगेको छ । गोसाईँकुण्ड गाउँपालिका र कालिका गाउँपालिकामा रहेका तीन शाखामा गरी कुल ३० लाख ४५ हजार ३८ रुपैयाँ बराबरको क्षति पुगेको हो ।
साढे दुई अर्ब कर्जा प्रभावित
बाढीले प्रभावित भएका बैंकका शाखाहरूमा कुल २ हजार १२५ ऋणी रहेको संघले जनाएको छ ।
भोटेकोशी बाढीबाट क्षतिग्रस्त बैंकका शाखाहरूमा ७८ हजार दुई सय चारजना निक्षेपकर्ताले कुल चार अर्ब ४३ करोड १८ लाख १० हजार रुपैयाँ निक्षेप जम्मा गरेका थिए । त्यस्तै, ती शाखाबाट दुई हजार एक सय २५ जना ग्राहकलाई कुल दुई अर्ब ४२ करोड ८० लाख ९० हजार कर्जा प्रवाह भएको थियो ।
बाढी प्रभावित क्षेत्रमा ठुलो जनधनको क्षति पुगेका कारण बैंकको कर्जासमेत जोखिममा परेको छ । बाढीले धितोका रुपमा रहेका भौतिक संरचना र जग्गा नै बगाएपछि बैंकहरुको अर्बौंको लगानी बालुवामा पानी जस्तै भएको छ ।
बाढी प्रभावित क्षेत्रमा बैंकहरूको जलविद्युत आयोजनाहरुमा अझै बढी लगानी गरेका छन् । जुन बाढीले पूर्ण रुपमा क्षति पुर्याएको छ । यी आयोजनाहरूको कुल क्षमता करिब ६७५ मेगावाट रहेको छ । बैंकहरूले ती आयोजनामा सहवित्तीयकरणमार्फत अर्बौँ रुपैयाँ लगानी गरेका छन् ।
बाढीबाट क्षतिग्रस्त १६ वटा बैंक शाखामा ७३ हजार २ सय ७५ वटा निक्षेप खाता सञ्चालनमा थिए । ती खातामा कुल ३ अर्ब ९८ करोड ८४ लाख १९ हजार रुपैयाँ निक्षेप रहेको प्रारम्भिक तथ्यांक छ । आयोजनाहरूमा भएको क्षतिका कारण परियोजनाको आम्दानी तथा सञ्चालन प्रभावित भएको छ । जसले गर्दा बैंकहरूको कर्जा असुलीमा समेत दबाब पर्ने देखिएको छ ।
प्रभावित शाखाबाहेक रसुवा र नुवाकोटका अन्य क्षेत्रमा रहेका बैंक शाखाबाट भने विद्युत् तथा सञ्चार सेवा क्रमशः सुचारु भएपछि बैंकिङ सेवा पुनः सञ्चालन हुन थालेको बैंकर्स संघले जनाएको छ ।





प्रतिक्रिया