सिमकोटमा विद्युत् आपूर्ति बन्द


हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको हिल्दुम वितरण केन्द्रअन्तर्गत पावर हाउसमा समस्या भएपछि भदौ १६ गतेदेखि विद्युत् आपूर्ति बन्द भएको हो ।

वितरण केन्द्रका सूचना अधिकारी कृष्णप्रसाद वलीका अनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट–९ को कन्ट्रोलमा समस्या देखिएपछि विद्युत् सेवा अवरुद्ध भएको बताए। उनका अनुसार हुम्लामा उपलब्ध प्राविधिक जनशक्तिबाट तत्काल समस्या समाधान गर्न नसकिने भएकाले आवश्यक सामग्री र थप प्राविधिक जनशक्ति आएपछि मात्र मर्मत सम्भव हुने बताए।

सामग्री र प्राविधिकको लागि खबर गरिसकेको भए पनि अहिलेसम्म आइ नपुगेकाले कहिलेसम्म मर्मत हुन्छ भन्ने कुरा यकिन नभएको बताए । उनले अर्को सूचना जारी नभएसम्म विद्युत् सेवा अवरुद्ध रहने सार्वजनिक सूचना जारी गरेको सुनाए ।

प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार  १८ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।