काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा क्रमशः रकम वृद्धि हुँदै गएको छ । भोटेकोशी नदीमा आएको बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि दाताहरुले रकम जम्मा दाखिला गर्न उत्साहित भएका कारण कोषमा रकम बढ्दै गएको हो ।
पोर्चुगलबाट होटल व्यवसायी राजकुमार गौतमले आज पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । उनले सो रकम पोर्चुगलबाटै आज प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका हुन् । उनी होटल व्यवसायी हुन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) काभ्रे, शाखाले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३२ लाख ४६ हजार ७५२ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको छ ।
प्याब्सन पनौतीले ११ लाख २४ हजार ३३ रुपैयाँ, प्याब्सन पाँचखालले तीन लाख सात हजार ४८४ रुपैयाँ र बनेपा नगर प्याब्सनले १७ लाख ५२ हजार २३५ रुपैयाँ सहयोग गरिएको प्याब्सनका उपमहासचिव भीमसेन केसीले बताए ।
वीरगञ्ज महानगरपालिका– १० को शिवम् बचत तथा ऋण सहकारी संस्थाले दुई लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरिएको अध्यक्ष शिवजीप्रसाद कलवारले बताए ।
तौलिहवास्थित कालिका स्वावलम्बन सामाजिक केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ५५ हजार रुपैयाँ सहयोग गरेको केन्द्रका अध्यक्ष मन्दिप सिंहले बताए ।
तनहुँ समाज, युकेले बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १० लाख १९५ रुपैयाँ सहयोग गरेको छ ।
समाजले बेलायतमा सङ्कलन गरेको उक्त रकमको चेक आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको तनहुँ समाज युकेका उपाध्यक्ष निर्मला थापाले जानकारी दिइन् ।





प्रतिक्रिया