पर्सा । प्रहरीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा भन्सार छली गरी अनधिकृत रुपमा नेपाल भित्र्याई सञ्चालन गरिरहेको रु १३ लाख ६० हजार बराबरको १७ वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
नियन्त्रणमा लिइएका विद्युतीय स्कुटरबारे थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ ।
लागूऔषधसहित पक्राउ
प्रहरीले सात ग्राम लागूऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ गरेको छ । लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिक पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर चोकस्थित सडकखण्डमा जितपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारलाई रोकी चेकजाँच गर्दा लागूऔषध ब्राउनसुगर भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चालक बस्ने सिटको माथिल्लो भागमा लुकाईछिपाई राखिएको प्लाष्टिकभित्र लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सात ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
भोटेकोशी बाढी : पर्सामा सहयोग सङ्कलन जारी
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि शिवम् बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ ।
सो संस्थाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु दुई लाख ५१ हजार बराबर सहयोग गरेको छ । सहकारीका सञ्चालक समिति अध्यक्ष शिवजीप्रसाद कलवारले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावितलाई सहयोग गरिएको जानकारी दिए ।
बाढी प्रभावित नागरिकका लागि ‘सहयोगी हात वीरगञ्ज’ले चामल, प्याकेट चिउरा, महिनावारी प्याड, कपडा, टुथपेस्ट, लुगा धुने तथा नुहाउने साबुन, बिस्कुट र कम्बल गरी दुई लाख बराबरको भौतिक सामग्री सहयोग गरेको छ ।
यसअघि मेडिकल कलेजले संयुक्त रूपमा रु ७५ लाख, समाजसेवी नीरज सर्राफले दुई लाख ५१ हजार, साउथ जोन माध्यमिक विद्यालयले रु एक लाख ५५ हजार ५५३ र निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) पर्साले रु १५ लाख बराबरको सहयोग गरिसकेका छन् ।





प्रतिक्रिया