शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन


गण्डकी । यही भदौ १० गते भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डिएनए’ नमुना सङ्कलन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा शव पहिचानका लागि उनीहरुका आफन्तको ‘डिएनए’ नमुना सङ्कलन भइरहेको छ । ‘डिनएन’का लागि निवदेन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमुना सङ्कलन गर्ने कार्य एकीकृत रुपमा जिल्ला प्रहरी कार्यालयबाट भइरहेको उनले बताए ।

बाढीमा परी ज्यान गुमाएकामध्ये एक सय दुई शव परीक्षण तथा पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका ७६ शवलाई जमिनमुनि व्यवस्थापन गरिएको थियो । यस्तै २१ शव पहिचान गरी आफन्तलाई बुझाइएको थियो भने पाँच शव अझै पनि अस्पतालमा रहेको जनाइएको छ ।

बाँकी रहेका शव पनि पहिचान गर्न कठिनाई भएका कारण व्यवस्थापन गर्ने तयारी भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए । जमिनमुनि व्यवस्थापन गरिएका शवको ‘डिएनए’ नमुना सङ्कलन गरिएकाले शव पहिचानका लागि आउने आफन्तको ‘डिएनए’ नमुना सङ्कलन भइरहेको छ ।

शवबाट सङ्कलन गरिएको ‘डिएनए’ नमुना राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । आफन्तको ‘डिएनए’सँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्ने गरी शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । बाढीपछि त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको थियो । नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको थियो ।

प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार  १२ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।