बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै


काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाइएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोली नुवाकोट पठाउन लागेको हो । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको हो ।

प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बालबालिका तथा प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ । टोलीमा कान्ति बाल अस्पतालकी बालरोग विशेषज्ञ डा बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा हरिकुमार श्रेष्ठ र डा श्रीराम खड्का रहेका छन् ।

टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकताअनुसार मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ । टोलीसँग आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसमेत पठाइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार  १३ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।