विकास बैंकहरूको खराब कर्जा ५.३७ प्रतिशत, पूँजी पर्याप्तता १४.५७ प्रतिशत


काठमाडौँ । विकास बैंकहरूको औसत खराब कर्जा (एनपीएल) ५.३७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्मको तथ्यांकअनुसार विकास बैंकहरूको खराब कर्जा ५ प्रतिशतभन्दा माथि देखिएको हो ।

तथ्यांक अनुसार केही बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम रहे पनि ८ प्रतिशतसम्म रहेको छ । नारायणी विकास बैंकको खराब कर्जा भने अन्य विकास बैंकको तुलनामा निकै उच्च देखिएको छ । उक्त बैंकको खराब कर्जा ४८.५१ प्रतिशत पुगेको छ ।
राष्ट्र बैंकका अनुसार विकास बैंकहरूको कुल निक्षेप ६ खर्ब ६१ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, विकास बैंकहरूको कुल कर्जा लगानी ५ खर्ब ५१ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

यसैगरी, विकास बैंकहरूको पूँजी पर्याप्तता अनुपात (सीसीएआर) १४.५७ प्रतिशत रहेको छ भने कुल पूँजी कोष ७९ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । जोखिमका आधारमा गणना गरिएको कुल सम्पत्ति (आरडब्लूई) ५ खर्ब ४७ अर्ब ६३ करोड रुपैयाँ रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

नारायणीको खराब कर्जा सबैभन्दा उच्च

विकास बैंकहरूमध्ये नारायणी विकास बैंकको खराब कर्जा सबैभन्दा उच्च ४८.५१ प्रतिशत रहेको छ । नारायणीपछि सप्तकोशी विकास बैंकको खराब कर्जा ७.६८ प्रतिशत रहेको छ । त्यस्तै, सिन्धु विकास बैंकको ७.६६ प्रतिशत, लुम्बिनी विकास बैंकको ६.९४ प्रतिशत, साङ्ग्रिला विकास बैंकको ६.८७ प्रतिशत, ज्योति विकास बैंकको ६.५५ प्रतिशत र महालक्ष्मी विकास बैंकको ६.३२ प्रतिशत खराब कर्जा रहेको छ ।

त्यसैगरी, कर्पोरेट विकास बैंकको खराब कर्जा ६.२४ प्रतिशत रहेको छ । शाइन रेसुङ्गा विकास बैंकको ४.९३ प्रतिशत, मुक्तिनाथ विकास बैंकको ४.७७ प्रतिशत, गरिमा विकास बैंकको खराब कर्जा ४.७६ प्रतिशत र एक्सेल विकास बैंकको ४.५७ प्रतिशत खराब कर्जा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

कामना सेवा विकास बैंकको खराब कर्जा ३.७७ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ३.२२ प्रतिशत रहेको छ । खराब कर्जा सबैभन्दा कम हुनेमा मितेरी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक रहेका छन् । मितेरीको खराब कर्जा ०.२६ प्रतिशत र सालपाको ०.७९ प्रतिशत मात्रै रहेको छ ।

समस्याग्रस्त घोषणा भएको कर्णालीको अवस्था

राष्ट्र बैंकले समस्याग्रस्त विकास बैंकका रूपमा घोषणा गरेको कर्णाली विकास बैंकको अवस्था कमजोर देखिएको छ । कर्णाली विकास बैंकको खराब कर्जा ९७.४५ प्रतिशत पुगेको छ । कर्णाली विकास बैंकको कुल कर्जा २ अर्ब ४४ करोड ११ लाख रुपैयाँ र कुल निक्षेप ४ अर्ब २९ करोड ४५ लाख रुपैयाँ रहेको छ । बैंकको खुद तरलता अनुपात ०.८२ प्रतिशत मात्रै रहेको छ ।
कर्णाली विकास बैंकको पूँजी पर्याप्तता अनुपात १४२.६३ प्रतिशतले ऋणात्मक रहेको छ । बैंकको कुल पूँजी कोषसमेत ३ अर्ब ८५ करोड ६१ लाख रुपैयाँ ऋणात्मक रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार  १३ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।