संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा


इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसङ्घको महासभामा बुधबार सम्बोधन गर्दै अमेरिकी आक्रमणको आलोचना गरेका छन । उनले इरानी जनता अमेरिकाको ‘आतङ्कवादको सिकार’ भएको बताउँदै इरान वार्ता र कूटनीतिका लागि तयार रहे पनि बल प्रयोगको दबाब स्वीकार नगर्ने स्पष्ट पारेका छन ।

करिब सात महिनादेखि जारी युद्धका बीच महासभामा सम्बोधन गरेका पेजेस्कियानले दिवङ्गत सर्वोच्च नेता अली खामेनी तथा युद्धको सुरुआती दिनमा मारिएका १५० भन्दा बढी विद्यालयका विद्यार्थीका तस्बिर प्रदर्शन गरेका थिए । उनले इरानले आफ्नो रक्षा मात्र गरेको दाबी गर्दै भने, “हामी आतङ्कवादी होइनौँ । हाम्रा निर्दोष जनता कायरतापूर्ण आक्रमणको लक्ष्य बनेका छन्”, अमेरिकातर्फ सङ्केत गर्दै उनले भने, “उनीहरूले हामीलाई प्रहार गरे, तर हामीले घुँडा टेकेका छैनौँ ।”

पेजेस्कियानको सम्बोधन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दिनअघि इरानसँग छिट्टै सम्झौता नभए इस्लामिक गणतन्त्रलाई ‘नष्ट’ गर्न सकिने चेतावनी दिएको पृष्ठभूमिमा आएको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले आणविक कार्यक्रम र आतङ्कवादसम्बन्धी नीतिमा परिवर्तन गर्नुपर्ने बताउँदै अन्यथा सैन्य कारबाहीसहित विभिन्न विकल्प प्रयोग गर्न सकिने बताए।

यसअघि ट्रम्पका प्रमुख दूत स्टिभ विटकफ र जारेड कुसनरले इरानी अधिकारीहरूसँग गरेको भेटलाई उनले ‘धेरै राम्रो बैठक’ बताएका थिए । तर इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले त्यस्तो सम्पर्कमा नयाँ कुरा नभएको बताए। अमेरिकासँगको सम्भावित वार्तालाई लिएर इरानभित्रै पनि मतभेद देखिएको छ । केही नेताले विदेशमन्त्री अब्बास अराघचीको आलोचना गरेका छन् ।

यसैबीच, अमेरिकी समर्थन प्राप्त ‘बोर्ड अफ पिस’ ले गाजाको पुनर्निर्माण र शासन व्यवस्था अघि बढाउन छ महिनाका लागि २ अर्ब ४५ करोड अमेरिकी डलरको योजना प्रस्ताव गरेको छ । योजनामा पूर्वाधार, शिक्षा र स्वास्थ्यसम्बन्धी ६६ परियोजना समेटिएका छन् । बोर्डका अनुसार गाजाको पुनर्निर्माणका लागि मध्यम अवधिमा करिब ३५ अर्ब २० करोड डलर आवश्यक पर्नेछ भने आगामी १० वर्षमा थप ७१ अर्ब ४० करोड डलर खर्च हुन सक्नेछ ।

उता, हर्मुज जलघाँटीमा बुधबार अर्को कार्गो जहाज अज्ञात प्रक्षेप्यबाट प्रहार भएको बेलायती समुद्री व्यापार सञ्चालन निकायले जनाएको छ । घटनामा दुई जनाको मृत्यु भएको, आगलागीपछि चालकदलले जहाज छाडेको र जहाज डुबेको जनाइएको छ । युद्धका कारण महत्त्वपूर्ण यस जलमार्गमा व्यावसायिक आवागमनसमेत प्रभावित भएको छ ।

प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार  ११ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।