काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डपलगायतका विभिन्न खुला बजारमा किनमेल गर्नेको चाप बढेको छ ।
दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न बजार पुगेका ग्राहकका कारण यहाँका खुला बजारमा ग्राहकको चहलपहल अन्य समयको तुलनामा एकाएक बढेको हो ।
दसैँका लागि परिवारका सदस्य, आफन्त तथा बालबालिकाका लागि नयाँ कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या बढेपछि भृकुटीमण्डपका व्यापारी व्यस्त देखिएका छन् ।
दसैँका लागि किनमेल गर्ने मुख्य समय सुरु भएसँगै ग्राहकको चाप बढेको भृकुटीमण्डपस्थित खुला बजारका व्यापारी अशोक खतिवडाले बताए ।
उहाँका अनुसार केही दिनयता बजारमा ग्राहकको आवागमन बढ्न थालेको छ । विशेषगरी बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि आवश्यक कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या उल्लेख्य बढेको उहाँले बताए। “दसैँ नजिकिँदै गएपछि कपडा किन्ने ग्राहकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । आज बिहानदेखि नै बजारमा पहिलेभन्दा बढी चहलपहल देखिएको छ”, खतिवडाले भने।
दसैँमा नयाँ कपडा लगाउने नेपाली परम्परा रहेकाले पनि चाडपर्वको समयमा कपडाको व्यापार बढ्ने गरेको अर्का व्यापारी श्यामप्रकाश अधिकारीले बताए । उनका अनुसार ग्राहकको चाप बढेसँगै व्यापारीलाई सामान देखाउने, ग्राहकको रोजाइअनुसार कपडा छनोट गराउने, मूल्य बताउने तथा बिक्री व्यवस्थापन गर्न भ्याइनभ्याइ हुने गरेको छ । “अन्य दिनको तुलनामा आजदेखि ग्राहकको चाप बढेको छ । दसैँ नजिकिँदै जाँदा अझै ग्राहक बढ्ने अपेक्षा गरेका छौँ”, अधिकारीले भने ।







