दशैंको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुल्ने


काठमाडौँ । नेपालीहरूको प्रमुख चाड दशैंका लागि घर फर्किने यात्रुको सहजताका लागि असोज २३ गते (शुक्रबार)देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ ।

दशैंमा काठमाडौँ उपत्यकाबाट ठूलो संख्यामा यात्रु बाहिरिने भएकाले यातायात व्यवसायी तथा सम्बन्धित निकायले अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेका हुन् । यात्रुको चापलाई व्यवस्थित गर्न अनलाइन तथा टिकट काउन्टरमार्फत अग्रिम टिकट काट्ने व्यवस्था मिलाइएको छ ।

यसपटक दशैंमा काठमाडौं उपत्यकाबाट मात्रै १० लाखभन्दा बढी मानिस बाहिरिने अनुमान गरिएको छ। ठूलो सङ्ख्यामा यात्रु बाहिरिने भएपछि अन्तिम समयमा टिकट अभाव, काउन्टरमा भिड र मनपरी भाडा असुली जस्ता समस्या दोहोरिन नदिन यातायात क्षेत्रको व्यवस्थापनमा विशेष तयारी थालिएको हो।

यस वर्ष बाढीपहिरोका कारण विभिन्न सडकखण्डमा क्षति पुगेकाले यातायात सञ्चालनमा चुनौती देखिएको छ । सम्बन्धित निकायले सडकको अवस्था, मौसम तथा वैकल्पिक मार्गको अध्ययन गरी यातायात व्यवस्थापन गर्ने तयारी गरेका छन् ।

दशैं नजिकिँदै जाँदा काठमाडौँबाट घर फर्किने यात्रुको चाप दिनप्रतिदिन बढ्ने भएकाले यात्रुले समयमै टिकट बुकिङ गर्नुपर्ने व्यवसायीहरूले बताएका छन् । टिकट बुकिङसँगै यात्रुको सुरक्षा, सवारी साधनको अवस्था र भाडादरको अनुगमनलाई समेत प्रभावकारी बनाउने तयारी गरिएको छ ।
यो वर्ष लामो दूरीका बसमा एउटै चालकले लगातार लामो समयसम्म सवारी चलाउने अवस्थालाई रोक्न दुई जना चालक अनिवार्य राख्नुपर्ने व्यवस्था लागु गरिने भएको छ।

दशैँ नजिकिँदै गर्दा अग्रीम टिकट बुकिङ नखुलेका कारण अन्योलमा रहेका यात्रुलाई यसले राहत दिएको छ ।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार  १४ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।