ग्यास अभाव समाधान गर्न उद्योगबाट हुने खुद्रा बिक्री बन्द गर्न माग


काठमाडौँ । नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो ।

बजारमा रहेका अनावश्यक सिलिण्डरको धरौटी रकम फिर्ता गर्नुको सट्टा आगामी वर्षहरूमा आम उपभोक्तालाई लुट्ने उद्देश्यले ५ किलो, १९ किलो, ५० किलो र ४५० किलोका नयाँ सिलिन्डर बिक्री गर्ने योजना ल्याइएको भन्दै त्यस्तो योजना सभ्य समाजलाई स्वीकार्य नहुने महासंघको चेतावनी छ ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै सिलिन्डर हुनु नै ग्यास अभावको मुख्य कारण रहेको बताएका छन् । यो सत्यलाई बेवास्ता गर्दै विभिन्न ग्यास उद्योगहरूले धमाधम २५ सयदेखि २७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले कडा आपत्ति जनाएको छ ।

महासंघले ग्यास आपूर्तिको समस्या समाधानका लागि उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्र ग्यास बिक्री गर्ने व्यवस्था गर्न माग गरेको छ। त्यसैगरी ग्यास अभावको वास्तविक कारण पहिचान गरी सम्बन्धित सरोकारवालासँग आवश्यक परामर्श गरेर उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन निगमसँग आग्रह गरिएको छ।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार  १५ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।