चाडपर्व लक्षित सडक मर्मतलाई तीव्रता


चितवन । सडक डिभिजन कार्यालय भरतपुरले चाडपर्वलाई लक्षित गरी राष्ट्रिय राजमार्ग तथा मातहतका सडकको मर्मतलाई तीव्रता दिएको छ । बाढी, पहिरो र वर्षाका कारण खाल्डाखुल्डी परेका तथा भत्किएका सडक मर्मत गरी चाडपर्वमा यात्रा सहज बनाउन काम तीव्र पारिएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार यस वर्ष बाढी, पहिरो र वर्षाका कारण विभिन्न स्थानमा सडकमा क्षति पुगेकाले चाडपर्वलाई ध्यानमा राखेर मर्मतको काम तीव्र पारिएको हो । उनले सडक मर्मत नियमित काम भए पनि यस वर्ष थप प्राथमिकताका साथ काम भइरहेको बताए ।

“हामी नियमित रुपमा सडक मर्मत गर्छौं । यस वर्ष चाडपर्वलाई लक्षित गरी कामलाई तीव्रता दिएका छौँ । यात्रुलाई सहज रूपमा यात्रा गर्नसक्ने वातावरण बनाउनु हाम्रो उद्देश्य हो”, उनले भने ।

उनका अनुसार नारायणगढ–मुग्लिन, नारायणगढ–लोथर, भरतपुर–माडी र भरतपुर–मेघौली सडकखण्डका साथै नवलपुर–पाल्पा–कालीगण्डकी करिडोरमा नियमित मर्मत भइरहेको छ । तीमध्ये धेरै स्थानमा मर्मतको काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।

सडकको क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनको आवागमन र वर्षायाममा पानीको बहावका कारण सडकमा क्षति पुग्ने गरेको आचार्यले बताए । उनले सडकको क्षति कम गर्न क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन सञ्चालन नगर्न आग्रह गरे ।

कार्यालयले आफ्नै जनशक्ति परिचालन गरी ‘इमल्सन प्याच’ र ‘रेक्टिफिक्स प्याच’ विधिबाट सडक मर्मत गरिरहेको छ । हिउँदमा तयार पारिएको रेक्टिफिक्स प्रयोग गरी आवश्यकताअनुसार इमल्सन प्याच प्रविधिसमेत अपनाएर सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको उनले बताए।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार  ०७ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।