चीनका राष्ट्रपति सी जिनपिङसहित एसिया–प्रशान्त क्षेत्रका नेताहरूले खुला व्यापार, निष्पक्ष प्रतिस्पर्धा र समावेशी विकासलाई प्राथमिकता दिन आग्रह गरेका छन । उनीहरूले व्यापार तथा लगानीका अवरोध घटाउँदै क्षेत्रीय सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका हुन ।
सेन्जेनमा आयोजित एपेक व्यवसायी सम्मेलनमा राष्ट्रपति सीले चीनले बजार पहुँच विस्तार र भन्सार शुल्क घटाउँदै व्यापारसम्बन्धी नियममा सुधार गर्ने बताए। उनले अन्तर्राष्ट्रिय व्यापारमा स्थिरता र सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
अमेरिका र चीनबीच भन्सार शुल्क तथा उन्नत प्रविधिको पहुँचलाई लिएर मतभेद कायम रहेका बेला सीले खुला व्यापारको पक्षमा धारणा राखेका हुन् । यसैबीच, क्यानााडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग पारस्परिक कर घटाउने सहमति गरेका छन । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले ठूला अर्थतन्त्रले साना देशमाथि आफ्ना नीति थोपर्न नहुने बताएका छन ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिबन्ध, शुल्क र निर्यात नियन्त्रणको प्रभावकारितामाथि प्रश्न उठाउँदै एसिया–प्रशान्त क्षेत्रसँग आर्थिक सम्बन्ध विस्तार रुसको प्राथमिकता रहेको बताए। रुसले सन् २०३५ मा एपेकको अध्यक्षता गर्ने प्रस्तावसमेत गरेको छ ।
एपेकका २१ सदस्यले विश्वको ६० प्रतिशत आर्थिक गतिविधि र आधा व्यापार हिस्सा ओगट्छन् । बिहीबार हुने नेताहरूको बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पुटिन र सीबीच त्रिपक्षीय भेटवार्ता हुने अपेक्षा गरिएको छ ।







