सनराइज बैंक विवाद तत्काललाई सुल्झियो, जोशीको राजीनामा माथि छलफल भएन


पछिल्ला केही दिनदेखि सनराइज बैंकमा बढ्दै गएको आन्तरिक विवाद अन्ततः बिहीबार साँझबाट टुङ्गोमा पुगेको छ । विवाद चर्किएपछि राष्ट्र बैंकले सबै सञ्चालकहरुलाई बोलाएर अनावश्यक विवाद नचर्काउन निर्देशन दिएसँगै बसेको बैंक सञ्चालक समितिको बैठकले विवादका विषयमा सामान्य छलफल मात्र गरेको छ । योसँगै बैंकका प्रमुख कार्यकारी अधिकृतको राजीनामाको विषय पनि सेलाएको छ । बैंक भित्रै विवादको अन्त्य गर्ने सहमति भएपछि बैंकमा एकले अर्कोलाई खेद्ने क्रमको अन्त्य भएको हो ।

यसअघि अधिकांश सञ्चालकहरु प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलको विरुद्धमा थिए । राष्ट्र बैंकले केही दिनअघि मात्र सबैलाई बोलाएर वर्ष दिनमा ३/३ जना प्रमुख कार्यकारी परिवर्तन गर्नुको कारण सहित जनक शर्माको कार्य क्षमताका विषयमा सोधपुछ गरेको थियो । सबै सञ्चालकले त्यस्तो अवस्था नरहेको जवाफ केन्द्रीय बैंकलाई दिएका सञ्चालकहरु नैतिक दवाबमा परेपछि बिहीबारको बैठकमा विवाद अन्त्य गर्न सहमत भएका हुन् ।

राष्ट्र बैंकलाई दिएको जवाफको आधारमा सबै सञ्चालकले प्रमुख कार्यकारी अधिकृतको रुपमा जनक शर्मा पौडेललाई नै निरन्तरता दिने विषयमा सहमति जनाएका हुन् ।

बैठकमा सञ्चालक शैलेन्द्र गुरागाईले भने प्रमुख कार्यकारी अधिकृतको विषयमा फरक मत राख्दै राजीनामा दिनुपर्ने अडान लिएका थिए । राष्ट्र बैंकले बोलाएको छलफलमा पनि गुरागाईले मात्र पौडेलको कार्यशैलीका विषयमा असन्तुष्टि व्यक्त गरेका थिए । बिहीबारको बैठकमा पनि प्रमुख कार्यकारीको विषयमा अडान लिएका गुरागाँई बैंकमा विवाद लम्ब्यान नहुने पक्षमा रहेको बताइएको छ । सबै सञ्चालकले पौडेललाई निरन्तरता दिँदै गर्दा गुरागाईको अडान एकल बने पछि प्रमुख कार्यकारीको विषय साम्य बनेको हो ।

सञ्चालक समितिको बैठक कै बीच बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले पनि संस्थालाई थप उचाईमा पुर्याउनका लागि दत्त चित्त भएर लाग्ने प्रतिबद्धता जनाएका थिए । बैंकमा पौडेलको कार्यकाल अझै ३ वर्ष बाँकी छ ।

यसैबीच बैंकका स्वतन्त्र सञ्चालक ओमकृष्ण जोशीले बिहीबार नै सञ्चालक समितिमा राजीनामा दिएका छन् । जोशीको राजीनामाका विषयमा सञ्चालक समितिले कुनै निर्णय गरेको छैन । बैंक सञ्चालक समिति अध्यक्ष मोतीलाल दुगडले जोशीको राजीनामा हठातको निर्णय भएको भन्दै विगत सम्झोर नभई भोलिका लागि बैंकमा बस्नुपर्ने बताएका थिए । कार्यकाल झण्डै एक वर्ष बाँकी नै रहेको अवस्थामा आएको जोशीको राजीनामा घटनाक्रमका बीच सामान्य भएकाले अब विवादलाई ठूलो विषय नबनाई अघि बढ्ने सबै तयार भएका हुन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।