सगरमाथा इन्स्योरेन्सले बोनस बाटै पुर्यायो एक अर्ब चुक्ता पूँजी, व्यवसाय ३० प्रतिशत बढ्यो

0
Shares

सगरमाथा इन्स्योरेन्सले गत आर्थिक बर्षको मुनाफाबाट बोनस बाडेर बीमा समितिले तोकेको एक अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ । असार १३ गते शुक्रबार सम्पन्न कम्पनीको २२ औं वार्षिक साधारण सभाले ८६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

हाल कम्पनीको ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँ चुक्ता पूँजी छ । ८६ प्रतिशत बोनस पश्चात बीमा समितिको निर्देशन अनुरुप चुक्तापूँजी १ अर्ब १२ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले ४६ करोड २९ लाख ३१ हजार रुपैयाँको बराबरको बोनस वितरण गर्नेछ । बोनस शेयरमा लाग्ने कर भने शेयरधनी आफैँले तिर्नुपर्नेछ ।

साधारण सभामा कम्पनीका अध्यक्ष राम कृष्ण मानन्धरले बार्षिक प्रतिवेदन पेश गर्दै २०७४÷७५ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.४४ प्रतिशतले व्यवसायमा बृद्धि गरेको जनाए । इन्स्योरेन्सले १ अर्ब ८३ करोड ७९ लाख ४४ हजार रुपैयाँ प्रिमियम आर्जन गरी एनफआएसका अनुसार ३३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको उनको भनाई छ । अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा २१. ७३ प्रतिशतले बृद्धि गर्न सफल भएको समेत जानकारी दिए ।

चालु आर्थिक वर्षको असारको पहिलो साता सम्ममा कम्पनीले २ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेको जानकारी गराउदै चालु आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब १५ करोड रुपैयाँभन्दा बढी प्रिमियम संकलन गर्ने कम्पनीको विश्वास छ ।

हालसम्म इन्स्योरेन्स कम्पनीले ५७ वटा शाखा तथा उपशाखा कार्यलयहरुबाट बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा शाखा कार्यालयहरुको संख्या ८५ पुर्याउने तयारी रहेको कम्पनीले जनाएको छ ।