‘प्रि-ओपनिङ’ शेयर बजारमा चलखेलको अस्त्र, साधारण लगानीकर्ता जोखिममा

0
Shares

नेपाल स्टक एक्सचेन्जले विहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्म कुनै पनि कम्पनीको शेयरको मूल्य ५ प्रतिशतसम्म घटाएर वा बढाएर १० कित्तादेखि जति पनि कित्ता किनबेच गर्न पाउने नियम लागू गरेयता शेयर बजारमा त्यो ठूलो चलखेलको अस्त्र भएको छ ।

केही ब्यक्तिहरुले मिलेमतोमा १० कित्ता शेयर ५ प्रतिशतसम्म मूल्य घट्बढ् गरेर किनबेच गर्दा ११ बजेदेखि हुने नियमित कारोबारमा गम्भिर असर पर्ने गरेको छ । बजारमा भईरहेको यही चलखेलले गर्दा नियमित कारोबार समयको सुरुको आधा, एक घण्टासम्म कतिपय कम्पनीको शेयर किनबेच नै ठप्प हुने गरेको छ ।

भदौ २१ गते आईतबार प्रिओपनिड। सेसनमा कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मूल्य चार प्रतिशत भन्दा माथिले बढाईएपछि ११ बजेपछिको नियमित कारोबारमा नकारात्मक असर परेको थियो । प्रि-ओपनिङ सेसनमा अधिकांश कम्पनीको शेयर १० कित्ता कारोबार भएको देखिएको थियो । 

आजको प्रि-ओपनिङ बजारमा ८७ कम्पनीको कारोबार भएकोमा ८५ कम्पनीको शेयरमूल्य बढेको थियो । जसमध्ये अधिकांस कम्पनीको ५ प्रतिशतसम्म शेयर मूल्य बढाइएको थियो ।

शुरुमै अधिक मूल्य बढाएर नेप्से सूचकमा ४२ भन्दा बढी अंकले बढोत्तरी भएको देखाईएपछि नियमित कारोबारमा शेयर खरिद गर्न बसेका सर्बसाधारण लगानीकर्ताहरु महंगो मूल्यमा ठगिएका थिए भने खेलाडीहरुले त्यही मूल्यमा शेयर बेचेर नाफा सुरक्षित गरेका थिए । जम्मा २ करोड हाराहारीको कारोबारमा ४२ अंकले नेप्से बढ्नु भनेको हदै अप्राकृतिक खेल थियो भन्ने स्पष्ट हुन्छ ।

विकशित शेयर बजारमा प्रिओपनिड। र स्पेशल प्रि-ओपनिङ, इृन्ट्रा डे जस्ता कारोबारहरु उपयोगी भए पनि नेपालको जस्तो विकसित हुँदै गरेको शेयर बजारमा यो केही खेलाडीहरुको हतियार मात्र बनेको छ । शेयर बजारका अधिकांश लगानीकर्ताहरुले प्रि-ओपनिङ बन्द गर्नुपर्ने माग गरे पनि नेपाल धितोपत्र बोर्ड र नेप्सेले मौनता साँधेर बसेका छन् ।

शेयर लगानीकर्ता दबाब समूहका तिलक कोइरालाले नोट बजारसँग कुरा गर्दै प्रिओपनिड् बजारमा केही सिमित ब्यक्तिले चलखेल गर्ने हतियार मात्र भईरहेकाले नेप्सेले तत्काल बन्द गर्नुपर्ने माग गरे । कोइरालाले आईपीओ बिक्री गरेर आएका कम्पनीहरुको शुरुको कारोबार गर्न मात्र प्रि ओपनिड। कायम राखे पनि हाल कारोबार भईरहेका अरु कम्पनीहरुका लागि भने यो बन्दै हुनुपर्ने माग गरे । उनले प्रि-ओपनिङ कायम राख्ने हो भने पनि कुनै पनि कम्पनीको प्रति कारोबार १००० कित्ता मात्र गर्न किनबेच गर्न पाउने र मूल्य २ प्रतिशत भन्दा तलमाथि गर्न नपाउने नियम लागु गर्नुपर्ने तर्क गरे ।

शेयर विश्लेषक प्रकाश तिवारीले प्रि-ओपनिङ कारोबारमा हुने चलखेलको नियमन गर्न नसकेमा यसको अर्थ नरहेको बताउँछन् । उनले प्रि-ओपनिङ हुने सबै कारोबारको नियामक निकायले अनुसन्धान गर्नसक्नुपर्ने बताउँछन् । विश्वका विभिन्न बजारमा प्रि-ओपनिङको अभ्यास भएपनि नेपालमा भने यसलाई अनुचित तरिकारले प्रयोग गर्ने गरेको भेटिन्छ । बजारमा हुने हरेक किसिमका कारोबार र गतिविधिको नियमन र अनुचित कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउनसक्नुपर्ने उनको तर्क छ ।

आइतबारको प्रि-ओपनिङमा एनआरएन इन्फ्रास्टक्चरको शेयरमूल्य ५ प्रतिशत र नियमतिमा थप ५ प्रतिशत बढाएर पोजेटिभ सर्किट लागेकोमा नियमित काराबोरमा आएको केहिबेरमै नकारात्मक सर्किट लागेको थियो। आजको बजारमा यो कम्पनीको प्रतिकित्ता ५९० रुपैयाँमा शेयर खरिद गर्नेहरुले एकैदिन प्रतिकित्ता १०६ रुपैयाँसम्म घाटा सहेका छन् । यस्तै साधाना लघुवित्तको प्रिओपनिङमा करिब ५ प्रतिशतले भाउ बढेकोमा नियमित बजारमा अघिल्लो दिनको भन्दा ३.२८ प्रतिशतले शेयर भाउ घटेको छ । यसदिन प्रिओपनिङमा थोरै थोरै कित्ताले शेयर भाउ बढाइएका अधिकांस कम्पनीको नियमित बजारमा शेयर भाउ घटेको छ ।

एनआरएन इन्फ्रास्टक्चरको शेयरमा चलखेल हुँदा एकैदिन प्रतिकित्ता १०६ रुपैयाँसम्म नोक्सानी

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।