सोल्टी होटलबाट विदेशी लगानी बाहिरियो, १०% शेयर स्वामित्व आधा अर्बमा बिक्री

0
Shares

पाँचतारे होटल सोल्टी (SHL) मा लगानी गरेको विदेशी लगानीकर्ता ‘होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेड’ ले आफ्नो १० प्रतिशत शेयर स्वामित्व ४७ करोड २३ लाख ४५ हजार रुपैयाँमा बिक्री गरेर बाहिरिएको छ ।

यससँगै होटलमा रहेको १० प्रतिशत वैदेशिक लगानी फिर्ता भएको छ भने शेयर बिक्रीपछि होटलमा शतप्रतिशत नेपाली लगानीकर्ताको मात्र स्वामित्व भएको छ । वैदेशिक लगानी फिर्ता लैजान हङकङको उक्त कम्पनीले उद्योग विभागमा धेरै अगाडिदेखि प्रकृया अगाडि बढाइरहेकोमा आइतबार आएर आफ्नो स्वामित्वको शेयर बिक्री गरेको हो ।

 

 

काठमाण्डौंको सोल्टीमोडमा रहेको उक्त पाँचतारे होटलमा हङकङको उक्त कम्पनीले आफ्नो नाममा रहेको ८४ लाख २५ हजार ७०६ कित्ता संस्थागत शेयर ब्रोकर नम्बर ३४ को ब्रोकर भिजन सेक्युरिटीज मार्फत होटलमा लगानी रहेको नेपालकै अर्काे लगानीकर्ता सोल्टी इन्टरप्राइजेजलाई बिक्री गरेको हो ।

सोल्टी इन्टरप्राइजेजले ३३ नम्बर ब्रोकर दक्षिणकाली इन्भेष्टमेन्ट मार्फत खरीद गरेको हो । नेप्सेको कारोवार नियामावलीको विनियम १६ अनुसार ‘बल्क ट्रेडिङ्ग’ कारोबार विन्डोबाट मार्फत कारोबार भएको हो । आजभन्दा २१ बर्ष अघि वैदेशिक लगानी ऐनमा उल्लेख भए बमोजिम खुला बजारबाटै होलिडे इन्सले सोल्टीको शेयर इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) मार्फत सन् २००० मा खरीद गरेको थियो ।

सो समयमा आईएफसीको शेयर इन्टरकन्टिनेन्टल होटल ग्रुप (आईएचजी) ले खरीद गर्दा नै तेस्रो पक्षलाई आईएचजीले शेयर बिक्री गर्न नपाउने सम्झौता गरिएको थियो। शेयर बिक्री गर्नुपर्ने अवस्थामा अहिलेको सोल्टी होटलको बहुमत स्वामित्व रहेको सोल्टी होटललाई नै बेच्नुपर्ने सम्झौता थियो। सोही सम्झौता अनुसार आईएचजीको भगिनी संस्था होलिडे इन्स नेपालले सोल्टी होटलको भगिनी संस्था सोल्टी इन्टरप्राइजेजलाई सम्झौता अनुसार शेयर बिक्री गरेको सोल्टी इन्टरप्राइजेजका एक अधिकारीले नोटबजारलाई बताए ।

शेयर खरीद गर्ने र बिक्री गर्ने दुबै पक्षबीच मूल्यमा विभागमा सम्झौता भएपछि होलिडे इन्सले शेयर बिक्रीका नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निवेदन दिएको थियो। उद्योग विभागले अनुमति दिएपछि उक्त कम्पनीले नेपालमा रहेको लगानी फिर्ता लैजान लागेको हो ।

अब उक्त कम्पनीले विभागको एकलविन्दु सेवा केन्द्रबाट आफ्नो वैदेशिक लगानी तथा लाभांश फिर्ता लैजाने छ। गत जेठसम्म विभागपछि नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृति लिनुपर्ने व्यवस्था रहेकोमा हाल भने विभागले नै लगानी फिर्ताको स्वीकृति प्रदान गर्ने गर्दछ ।

सरकारले वैदेशिक लगानी भित्र्याउन तथा फिर्ता लैजाने कार्यका लागि सहजीकरणका लागि एकलविन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएपछि राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने व्यवस्था छोट्टिएको हो । विभागको स्वीकृतिपछि अब वैदेशिक कम्पनीहरुले हाल मुद्रा सटहीको लागि (परिवत्र्य मुद्रामा लगानी फिर्ता लैजान) मात्र राष्ट्र बैंकबाट स्वीकृति लिएर लगानी फिर्ता लैजान सक्छन् ।

तत्कालीन राजा महेन्द्र शाहले सन् १९६६ मा उक्त होटल स्थापना गरेका थिए । सुरुमा १०४ कोठाबाट सेवा सुरु गरेको होटलले साढे १ अर्ब लगानी गरेर नेपालगञ्जमा अर्को पाँचतारे होटल सञ्चालनमा ल्याइसकेको छ । हाल होटलमा २८२ लक्जरी र ७ वटा रिगल भिभिआईपी कोठा सञ्चालनमा छन् भने १२ एकर्ड क्षेत्रफलमा होटल फैलिएको छ । होटलका ५ वटा इन्साइट रेष्टुरेन्ट तथा क्यासिनो समेत सञ्चालनमा छ ।

गत आर्थिक वर्षको १५ प्रतिशत बोनस पश्चात होटलको चुक्ता पूँजी ८४ करोड २५ लाख ७६ हजार रुपैयाँ छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।