सानिमा रिलायन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित


सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा शुक्रबार नयाँ बानेश्वरस्थित अनमोल बैंक्वेटमा सम्पन्न भएको छ। सभामा सञ्चालक समितिका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष ०८०/८१ को लेखापरिक्षण प्रतिवेदन, वार्षिक प्रतिवेदन र वित्तीय विवरण सर्वसम्मतिले पारित गरेको हो।

सभाले संचालक समितिद्वारा प्रस्तावित ८ प्रतिशत नगद लाभांश (करसहित) तथा १.२४८९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यस निर्णयअनुसार कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँसम्म पुग्नेछ। साथै, सोही अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरिएको छ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बीमा व्यवसायमा गुणस्तरीय सेवा र दीर्घकालीन रणनीतिमा कम्पनीको फोकस रहेको बताए। उनले हालै सम्पन्न मर्जरपछि उत्पन्न चुनौतीहरूलाई सन्तुलित ढंगले व्यवस्थापन गर्दै कम्पनीलाई अझ सशक्त र विश्वसनीय बनाउनेतर्फ लागिएको जानकारी दिए।

सभामा अध्यक्ष केडियाले कम्पनीको मूल्य मान्यता, सुशासनको अभ्यास र दक्ष जनशक्तिको प्रयोगले संस्थालाई बीमा बजारमा फरक पहिचान दिलाउने प्रतिबद्धता व्यक्त गरे। सभाले लेखापरीक्षकको नियुक्ति, नयाँ रजिष्टर्ड कार्यालयको स्थानान्तरण (नयाँ बानेश्वरबाट नक्साल) र सम्बन्धित प्रबन्धपत्र संशोधनसमेत पारित गरेको छ।

हाल कम्पनीले लाभांश वितरणको सन्देश दिन सके पनि बीमा बजारमा बढ्दो प्रतिस्पर्धा, प्रविधिमा ढिलाइ, र मर्जरपछिको एकीकरण चुनौतीबीच स्थायित्व कायम गर्नुपर्ने दबाब कायमै रहेको विश्लेषकहरूको भनाइ छ।

प्रकाशित मिति: ११ चैत २०८१, सोमबार  ०८ : २५ बजे