एक्सनएड नेपालद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १ करोड ६२ लाख बराबरको पीपीइ हस्तान्तरण


कोरोना संक्रमितको पहिचान र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि एक्सनएड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) हस्तान्तरण गरेको छ ।

मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रमका बिच स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई एक्सनएड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले १ करोड ६२ लाख ४३ हजार ३ सय ४३ रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेकी हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना संक्रमणको दर बढिरहेको बेलामा प्रदान गरिएको सामाग्रीले कोरोना संक्रमित पहिचान तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । यी सामाग्रीहरुलाई मन्त्रालयले आवश्यकता रहेका ठाउँमा पठाउने उनले जानकारी दिए ।

एक्सनएड नेपालले विश्वभर फैलिएको कोभिड–१९ महामारी तथा यसको असरबाट गरिब तथा सीमान्तकृत समुदायलाई बचाउनका लागि सचेतना अभिवृद्धिका कार्यक्रम गर्दै आएको छ । यसका साथै कोरोना रोकथाम, राहत वितरण तथा सुरक्षा सामाग्री वितरण लगायत अन्य सामाजिक तथा आर्थिक विकासका कार्यहरु गर्दै आइरहेको छ ।

सँस्थाले एचबिसिसि, डिएफआईडी, युनिलिभर र स्टाण्डर्ड चार्टड बैंकसँगको सहकार्यमा काठमाडौं उपत्यका, बर्दिया, डोटी, बाजुरा, सिरहा र अन्य जिल्लाहरुमा कोभिड १९ संक्रमितको पहिचान र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि हस्तान्तरण गरेको हो ।

उल्लेखित संख्याको व्यक्तिगत सुरक्षा सामाग्रीहरुमध्ये ४ हजार थान मन्त्रालयले आवश्यकता अनुसार वितरण गर्ने र बाँकी ५ हजार ४५७ थान यस सँस्थाले काम गरिरहेको काठमाडौं, ललितपुर, भक्तपुर, बर्दिया, बाजुरा, डोटी र सिरहा जिल्लामा रहेका साझेदार सँस्था तथा स्थानीय पालिकामार्फत स्थानीय स्वास्थ्य सँस्थाका स्वास्थ्यकर्मीलाई वितरण गरिने बताइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।