कफी व्यवसायी महासंघका अध्यक्षलाई ३ प्रश्न

‘राज्यले कफी ‘नचिन्दा’ अर्बौं रुपैयाँ बिदेसिइरहेको छ’


काठमाडौँ । नेपालमा कफी खेतीको सुरुआत १९९५ सालमा गुल्मी जिल्लाबाट भएको थियो । हाल कफी खेती मुलुकका ४० जिल्लामा विस्तार भएको छ ।

जलवायु परिवर्तन, रोग किराका बाबजुद पनि नेपाली किसानहरूले कफी खेती गर्दै आएका छन् । अहिले नेपालको आन्तरिक बजारमा २ हजार ५०० टनसम्म कफीको माग हुने गरेको छ ।

तर, पर्याप्त मात्रामा खेती नहुनु र सरकारले कफी उत्पादनको महत्त्व नबुझेका कारण बर्सेनि २ हजार टन कफी आयात हुने गरेको व्यवसायीहरू बताउँछन् ।

सरकारले आवश्यक सहयोग गरेमा आयात प्रतिस्थापन गरेर निर्यात गर्न सक्ने यस क्षेत्रमा लागेका किसानहरूको भनाइ छ ।

३ प्रश्नको आजको अंकमा हामीले नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारीसँग कफी गफ गरेका छौँ ।

  • नेपालमा हाल कफी उत्पादन र निर्यातको अवस्था कस्तो छ ?

नेपालमा कफी उत्पादनको अवस्था ठिकै छ । तर, जति अपेक्षा गरिएको थियो, त्यति हुन सकेको अवस्था छैन । पछिल्लो तथ्यांकअनुसार ५८० टनसम्म कफी उत्पादन हुने गरेको छ ।

पछिल्लो केही वर्षयता उत्पादनको अवस्थामा सुधार हुँदै गएको छ । नेपालको पहाडी क्षेत्र कफी उत्पादनका लागि उपयुक्त मानिन्छ । अहिले कफी बढी रोपिएकाले आगामी १–२ वर्षपछि उत्पादन बढ्ने अनुमान गरिएको छ ।

निर्यातको अवस्था १०० टनसम्म हुन्छ, बाँकी आन्तरिक बजारमा खपत हुन्छ । केही मात्रामा जापान, अमेरिका, जर्मनीलगायत देशमा निर्यात हुने गरेको छ । तर, हाम्रो आन्तरिक बजारलाई हामीले उत्पादन गरेभन्दा ५ गुणा बढी कफी आवश्यक पर्छ ।

हाम्रो उत्पादन लगभग ६०० टन जति हुन्छ । तर २४–२५ सय टन आन्तरिक बजारमा खपत हुने गरेको छ । उपभोक्ता बढेका छन् । आन्तरिक बजारको माग पूर्ति गर्न पनि हाम्रो उत्पादनले सकेको छैन । त्यसैले निर्यात कम मात्रामा हुने गरेको छ ।

  • यति धेरै खपत हुँदा पनि उत्पादन वृद्धिमा किन ध्यान दिइएन त ?

उत्पादन कम हुनुमा भौगोलिक वातावरणले पनि प्रभाव पारेको छ । जलवायु परिवर्तनले गर्दा समयमा पानी नपर्ने, असिना पर्ने यावत कुराले केही मात्रामा उत्पादनमा ह्रास आएको अवस्था छ ।

अर्काे कुरा कफीको उत्पादन बढाउन सरकारले ध्यान दिएको छैन । कफीमा लागेका किसानहरूलाई राज्यले चिन्दा पनि चिन्दैन । नीति बनाएर मात्र हुँदैन, कार्यान्वयन पक्ष बलियो हुनुपर्छ । सरकारले कृषि बिमा कार्यान्वयन नगर्दा यसमा लाग्ने किसान उत्साहित हुन सकेका छैनन् ।

विभिन्न समयमा आउने प्राकृतिक प्रकोप, रोग किरा आदिले क्षति भएमा किसानले कहाँबाट क्षतिपूर्ति पाउँछ ? राज्यले कफीलाई व्यवसायीकरण गर्न सकेको छैन । अहिले थोरै क्षेत्रमा साना किसानले कफी खेती गर्दै आएका छन् ।

  • कफीको व्यावसायिक उत्पादन वृद्धिका लागि तीनै तहका सरकारको के भूमिका हुनुपर्छ ?

कफीको उत्पादन बढाउन ठुलो क्षेत्रमा कफी खेती गर्ने व्यवस्था हुनुपर्‍यो । पहाडमा बाँझो जग्गामा प्रशस्त मात्रामा खेती गर्नुपर्छ । यसका लागि जग्गाको हदबन्दी, लिजसम्बन्धी व्यवस्था गर्नुपर्छ ।

जंगलभित्र पनि कफी खेती गर्न सकिन्छ, घना जंगलमा त हुँदैन । तर, पातलो रूखहरू भएको ठाउमा यसको सम्भावना हुन्छ । यसले जंगल वृद्धि गर्ने काममा पनि सहयोग गर्छ । त्यसकारण यस्तो नीति सरकारले बनाएको खण्डमा यसको उत्पादन वृद्धि गर्न सकिन्छ ।

अर्काे विषय मल, बिउ, सिँचाइको पर्याप्त व्यवस्था गर्नुपर्छ । यसका साथै बिमा कार्यक्रम पनि सञ्चालन गर्नुपर्छ । भूमि बैंकको व्यवस्था गरिनुपर्छ । खाली जग्गा स्थानीय तहले जिम्मा लिएर खेती गर्नुपर्छ ।

संघ सरकारले नीति बनाउने र बजेटको व्यवस्था गरेर कार्यान्वयन र अनुगमनको जिम्मेवारी स्थानीय सरकारलाई दिएको अवस्थामा प्रभावकारी हुन्छ । प्रत्यक्ष रूपमा किसानहरू स्थानीय तहसँग जोडिएका हुन्छन् । यसले समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह हुन्छ ।

कफी रोपेको ४ वर्षपछि मात्र राम्रो उत्पादन दिन्छ । यी सबै कुरा गर्न सकेको अवस्थामा १० वर्षपछि आयातमा भर पर्नुपर्दैन । त्यसको केही समयपछि प्रशस्त मात्रामा निर्यात गर्न सकिन्छ ।

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार  १६ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।