‘सिड स्टार्स वर्ल्ड’ प्रतिश्पर्धामा दियालो टेक्नोलोजिले पायो अवार्ड


नेपालमा खानेपानी समितिहरूलाई डिजिटलाईज गर्न महत्वपूर्ण भूमिका खेलेको दियालो टेक्नोलोजिज प्रा.लि. ‘सिड स्टार्स वर्ल्ड प्रतिश्पर्धा २०२०/२०२१’ का लागि नेपालबाट विजयी बनेको छ ।

नेपाल लगायत विश्वका विभिन्न स्टार्टअप कम्पनीहरुको सहभागिता रहने यस प्रतिष्पर्धामा यो वर्ष नेपालबाट दियालो टेक्नोलोजिज छानिएको हो ।

मंगलबार ‘सिड स्टार्स’ले भर्चुअल माध्यमबाट एशिया र अफ्रिकाका विजेता कम्पनीहरुको नाम घोषणा गरेको थियो । यो अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई अब अटोमेशनमा लैजान थप कामहरू गर्ने अवशर प्राप्त गर्नेछ ।

अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पी आर खनालले सिडस्टार्समा नेपालबाट विजेता बन्न पाउँदा धेरै हर्षित भएको बताए । ‘हामीले विगत आठ वर्षदेखि खानेपानी क्षेत्रका संस्थालाई डिजिटलाइज गर्दै आएका छौँ । अब हामीले यी क्षेत्रलाई पुर्ण अटोमेशनमा लैजाने गरी काम गर्ने छौँ र उपभोक्तालाई थप सहजता दिलाउनेछौँ’ खनालले भने ।

नेपालमा दियालो टेक्नोलोजिले खानेपानी क्षेत्रमा वाटरमार्क नामक सफ्टवेयर निर्माण गरी खानेपानी समितिलाई डिजिटलाइज गर्नुका साथै मिटर रिडिङ देखि अनलाइनबाट भुक्तानी गर्न सकिने किसिमको प्रविधि निर्माण गरी प्रयोगमा ल्याएको छ ।

यस्तै दियालोले सार्बजनिक यातायातको टिकट अनलाइनबाट काट्न सकिने ‘बससेवा डटकम’ मार्फत सेवा दिँदै आएको छ । यसैगरी कम्पनीले नेपालमै पहिलो पटक क्लाउड बेस एकाउन्टिङ सफ्टवेयर ‘इलेखा’ लगायतका थुप्रै सफ्टवेयर निर्माण गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।