काठमाडौँ । असार मध्येमा आइपुग्दा रासायनिक मलको टेन्डर बल्ल सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि ५ लाख ५० हजार मेट्रिक टन मल आपूर्तिको टेन्डर प्रक्रिया सम्पन्न गरेको हो ।
मन्त्रालयका अनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार १२ गतेसम्मको मलको टेन्डर प्रक्रिया पूरा भइसकेको छ ।
यो वर्ष रासायनिक मलको लागि सरकारले कुल २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । टेन्डरअनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनमार्फत युरिया, डिएपी र पोटास मलको आपूर्ति प्रक्रिया अगाडि बढाएको थियो ।
हालसम्म कम्पनीगत रूपमा कृषि सामग्री कम्पनीले २ लाख ९८ हजार ३८७ मेट्रिक टन र साल्ट ट्रेडिङ्गले ६४ हजार ८४९ मेट्रिक टन मल आपूर्ति गरेको छयसरी दुबै कम्पनीले जम्मा ३ लाख ६३ हजार २३६ मेट्रिक टन मल आपूति गरेका छन् ।
युरिया मल २ लाख २७ हजार १६४ मेट्रिक टन, डिएपी १ लाख २० हजार ८०६ मेट्रिक टन र पोटास १५ हजार २६५ मेट्रिक टन आपूर्ति भइसकेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, असार १२ गतेसम्मको मौज्दात अवस्था पनि उल्लेख्य रहेको छ । गत आवको समेत गरेर युरिया २६ हजार ४१२ मेट्रिक टन, डिएपी २५ हजार ६८७ मेट्रिक टन र पोटास ८ हजार ६१२ मेट्रिक टन मौज्दात रहेको छ । कुल मौज्दात ६० हजार ७१२ मेट्रिक टन पुगेको मन्त्रालयले जनाएको छ।
रासायनिक मल विक्रीको हिसाबले गत वर्षको समेत गरी हालसम्म यूरिया २ लाख ४५ हजार ४७७ मेट्रिक टन मल बिक्री भइसकेको छ भने डीएपी १ लाख ४४ हजार ३० मेट्रिक टन र पोटास १५ हजार ४१२ मेट्रिक टन मल बिक्री भइसकेको छ ।
कृषि सामग्री कम्पनी मार्फत ३ लाख ११ हजार ६६३ मेट्रिक टन र साल्ट ट्रेडिङ्गमार्फत ९३ हजार २५६ मेट्रिक टन गरी जम्मा ४ लाख ४ हजार ९२० मेट्रिक टन मल बिक्री भएको छ।
यससँगै थप युरिया मल आयातको प्रक्रियामा पनि तीव्रता दिइएको मन्त्रालयले जनाएको छ । कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ्गले संयुक्तरूपमा ३४ हजार मेट्रिक टन युरिया कोलकत्तामा ल्याइसकेका छन् । जुन नेपाल प्रवेशको चरणमा छ । कृषि सामग्री कम्पनीमार्फत ३० हजार मेट्रिक टन युरिया स्रोत मुलुकबाट लोडिङ्ग भई कोलकत्तामा आइपुगेको छ भने साल्ट ट्रेडिङ्गले ल्याउने २२ हजार मेट्रिक टन युरिया पनि लोडिङ्ग भई कोलकत्ता आउँदैछ । ३० हजार मेट्रिक टन डीएपी मल स्रोत मुलुकबाट सिपमेन्ट भइसकेको र असार २५ गतेसम्म कोलकत्ता आइपुग्ने तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया