अर्थतन्त्रको पुनरउत्थानका लागि विशेष कार्यक्रम ल्याउन प्रधानमन्त्रीलाई गोल्छाको आग्रह


नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोभिडबाट अर्थतन्त्रमा परेको असरलाई पुर्ववत अवस्थामा फर्काउन विशेष कार्यक्रम घाषणा गर्न सरकारसँग आग्रह गरेका छन् । आगामी आइतबारदेखि महासंघको अध्यक्ष बन्न लागेका गोल्छाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष यस्तो प्रस्ताव गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाको उद्घाटन शत्रका क्रममा गोल्छाले प्रधानमन्त्री ओलीलाई कोभिडबाट प्रभावित व्यवसाय तथा अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनलाई विशेष कार्यक्रम जरुरी रहेको बताएका हुन् ।

कोरोनाका कारण प्रभावित उद्योगी व्यवसायीहरुलाई सावाँ ब्याज छुट, श्रमिकको व्यवस्था, प्रत्यक्ष अनुदान, राजश्वमा छुट लगायतका सहुलियत समेटेर कार्यक्रम घोषणा गर्नु पर्ने उनको भनाई थियो । अध्ययनले नेपालको कुल उद्योग व्यवसाय मध्ये ४ प्रतिशत पूर्ण रुपमा र ३५ प्रतिशत आंशिक रुपमा बन्द भएको देखाएको बताउँदै गोल्छाले अवस्थालाई गम्भीर रुपमा लिन सरकारको ध्यानाकर्षण गराए ।

प्रस्तावित कार्यक्रमको ढांचा तयार गरि आफु नेतृत्वको कार्यसमितिबाट पारित गरेर परिचालन गर्ने योजना रहेको गोल्छाले बताए । उक्त कार्यक्रमका लागि समय दिन पनि उनले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

नेपालको अर्थतन्त्रलाई पुर्ववत अवस्थामा ल्याउनलाई कुल गार्हस्थ उत्पादनको ९ प्रतिशत रकम खर्चिनु पर्ने युनेस्कोको अध्ययनले देखाएको र यसका लागि सरकारले ३ खर्ब ४० अर्ब रुपैयाँ बराबर खर्च गर्नुपर्ने गोल्छाले बताए । यसरी खर्च हुने कुल रकम मध्ये सुरक्षामा ४ प्रतिशत, स्वास्थ्य पूर्वाधारमा डेढ प्रतिशत, कुल गार्हस्थमा ३, सामाजिक सुरक्षामा ४ प्रतिशतका हिसाबले खर्च गर्नु पर्ने उनले बताए ।

सरकार, निजि क्षेत्र तथा अन्य सरोकारवालाहरु मिलेर अर्थतन्त्र सुधारका लागि अगाडी बढ्नुपर्ने गोल्छाको भनाई थियो ।

कोरोनाबाट प्रभावित उद्योग व्यवसाय सुधारका लागि राष्ट्र बैंकले मौद्रिक नीति मार्फत राहत प्याकेज ल्याए पनि त्यो पर्याप्त र प्रभावकारी नभएको उनको टीप्पणी थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।