काठमाडौँ । सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको छ । नेपालमै रहेर काम गर्ने भन्दा वैदेशिक रोजगारीमा जानेहरु कोषमा धेरै आवद्ध भएका छन् ।
कोषका अनुसार हालसम्म वैदेशिक रोजगारबाट १७ लाख ७६ हजार २६३ जना आवद्ध भएका छन । यस्तै औपचारिक क्षेत्रबाट ६ लाख २ हजार १८५ जना, अनौपचारिक क्षेत्रबाट ७२० जना र स्वरोजगार क्षेत्रबाट ४१७ जना गरी जम्मा २३ लाख ७९ हजार ५८५ जना कोषमा आवद्ध भएका छन ।
यस्तै, प्रदेशगत आधारमा सबैभन्दा बढी बागमती प्रदेशबाट १४ हजार १८३ रोजगारदाता र ४ लाख ५५ हजार ८०१ जना योगदानकर्ता आवद्ध भएका छन् ।
कोशी प्रदेशबाट २ हजार २५३ रोजगारदाता र ६४ हजार १६१ जना योगदानकर्ता आवद्ध छन् भने मधेश प्रदेशबाट १ हजार १२५ रोजगारदाता र २९ हजार ७६६ जना योगदानकर्ता कोषमा आवद्ध भएका छन् ।
त्यस्तै, गण्डकी प्रदेशबाट १ हजार ८३ जना रोजगारदाता र २५ हजार ४२६ जना योगदानकर्ता आवद्ध हुँदा लुम्बिनी प्रदेशबाट १ हजार ७३२ जना रोजगारदाता र २१ हजार ५७१ जना योगदानकर्ता आबद्ध भएका हुन् ।
कर्णाली प्रदेशबाट २८४ रोजगारदाता र २ हजार ३८५ जना योगदानकर्ता आवद्ध छन् भने सुदुर पश्चिम प्रदेशबाट ३१२ रोजगारदाता र ३ हजार ७५ जना योगदानकर्ता कोषमा आवद्ध भएका छन ।
उल्लेखित संख्यामा योगदानकर्ता आवद्ध हुदाँ ८३ अर्ब ८६ करोड रुपैयाँ रकम संकलन भएको छ । जसमध्ये कोषले १५ अर्ब ७५ करोड रुपैयाँ दाबी भुक्तानी गरि सकेको छ ।
कोषले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा २ अर्ब ३७ करोड १६ लाख ५० हजार ५२८ रुपैयाँ संकलन भएकोमा २ अर्ब १४ करोड ९३ लाख १३ हजार ७६८ रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
त्यसैगरी, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवार सुरक्षा योजनामा ५ अर्ब ३० करोड २६ लाख ९ हजार ८३५ रुपैयाँ संकलन भएकोमा ४६ करोड ७७ लाख ५० हजार ९२० रुपैयाँ दाबी भुक्तानी भइसकेको छ ।
वृद्ध अवस्था सुरक्षा योजनामा ६८ अर्ब ७५ करोड ७१ लाख ५६ हजार १८९ रुपैयाँ संकलन भएकोमा १३ अर्ब १३ करोड ५९ लाख ९१ हजार ३४३ रुपैयाँ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।










प्रतिक्रिया