कक्षा १२ को राम्रो नतिजा स्वदेशमै भविष्य खोज्ने जनशक्ति की ? विदेशीने खुड्किलो !


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलले विगत ५ वर्ष यताकै सबैभन्दा राम्रो नतिजा देखाएको छ । यस वर्ष समग्रमा उत्तीर्ण प्रतिशतमा उल्लेख्य सुधार देखिएको छ । यो संख्यात्मक सुधार मात्र भएको र गुणस्तरीय तथा व्यावहारीक शिक्षा प्रदान गरी स्वदेशमै विद्यार्थीलाई टिकाउने नीति ल्याउनुपर्नेमा शिक्षाविद्हरुले जोड दिएका छन् । उनीहरुका अनुसार, उत्तीर्ण प्रतिशत बढ्नु सकारत्मक भए पनि हजारौँ विद्यार्थी उच्च शिक्षा र राम्रो भविष्यको खोजीमा विदेश पलायन हुनु देशको लागि गम्भीर चिन्ताको विषय हो ।

बोर्डका अनुसार यस वर्ष परीक्षामा नियमिततर्फ ३ लाख ९६ हजार ३४७ जना सहभागी भएकोमा ६१.१७ प्रतिशत अर्थात् २ लाख ४२ हजार ४६५ विद्यार्थी उत्तीर्ण भएका छन् । आंशिकतर्फ १ लाख १४ हजार ६४० जना विद्यार्थी सहभागी भएकोमा ३८.८३ प्रतिशत अर्थात् ४१ हजार ८४० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

गत वैशाख २१ गते देखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १० हजार ९८७ विद्यार्थी सहभागी भएकामा २ लाख ८४ हजार ३०५ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।

नियमिततर्फ १ लाख ५३ हजार ८८२ जना र आंशिकतर्फ ७२ हजार ८०० विद्यार्थीले ननग्रेड पाएका छन् ।

यो नतिजा विगतका वर्षहरुको तुलनामा निकै उत्साहजनक हो । वि.स. २०७८ सालको परीक्षामा ४६.४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । २०७९ सालमा ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

२०८० को परीक्षामा ५०.९१ प्रतिशत उत्तीर्ण भएका थिए । गत वर्ष ५२.९१ प्रतिशत उत्तीर्ण भएका थिए । यस वर्ष करिब ९ प्रतिशतको सुधार आएर ६१.१७ प्रतिशत उत्तीर्ण भएका हुन् ।

शिक्षाविद्हरुले नतिजामा भएको सुधारलाई सकारात्मक रुपमा लिएपनि गुणस्तरमा अझै ध्यान दिनुपर्ने बताएका छन् । शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार पछिल्लो समय विद्यार्थीहरुले प्रश्नपत्रको नमुना र पठन सामग्री सहजै पाउन थालेका छन् । साथै उनीहरुले पढाईमा कृत्रिम बौद्धिकता एआई को समेत सहयोग लिन थालेको उनको भनाई छ । यद्यपि उनले संख्यात्मक नतिजामा मात्र केद्रित नभएर विद्यार्थीहरुलाई नेपालमै टिकाउन सक्ने गुणस्तर र सीप विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

अर्काेतर्फ नेपालको शिक्षा प्रणाली नै दोषपूर्ण रहेको र यसले स्वरोजगारभन्दा पनि जागिर खोज्ने मानसिकताको विकास गरेको कतिपयको विश्लेषण छ । शिक्षालाई उत्पादनमुलक क्षेत्रसँग नजोड्दासम्म यो केवल औपचारिकतामा सीमित हुने र यसले विदेश पलायन तथा बेरोजगारीको समस्यालाई न्यूनीकरण गर्न नसक्ने उनीहरुको भनाई छ ।

समग्रमा, यस वर्षको कक्षा १२ को नतिजाले शैक्षिक क्षेत्रमा सुधारकोसंकेत देखाएको छ । तथापि, उत्तीर्ण भएका विधार्थीहरुलाई स्वदेशमै गुणस्तरीय उच्च शिक्षा र रोजगारीका अवसरहरु सिर्जना गरी उनीहरुलाई देश निमार्णमा लगाउनु अबको मुख्य चुनौती हुने देखिएको छ ।

कसैले पनि ल्याएनन् ४ जीपिए

यस वर्ष कक्षा १२ को नतिजा ५ वर्षयताकै उत्कृष्ट छ । उत्कृष्ट नतिजा आए पनि ४ जिपीए ल्याउने १ जना पनि नभएको बोर्डले जनाएको छ ।
नतिजा अनुसार २.८ देखि ३.२ ल्याउने सबैभन्दा बढी विद्यार्थी छन् ।

यस वर्ष ९४ हजार २६८ जना विद्यार्थीले २.८ देखि ३.२ जीपीए ल्याएका छन् । २.४ देखि २.८ प्रतिशत ल्याएर ६९ हजार ८ सय १२ जना उत्तीर्ण भएका छन् । ३.२ देखि ३.६ जीपीए ५५ हजार ८९६ जना विद्यार्थीले ल्याएका छन् । २.१ देखि २ .४ जीपीए ल्याउने विद्यार्थी संख्या ८ हजार ९६४ छन् । १.६ देखि २ जीपीए ल्याउने २३ जना विद्यार्थी छन् ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार  १७ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।