शिक्षाविद् विद्यानाथ कोइरालालाई ३ प्रश्न

‘कक्षा १२ को रिजल्ट सुध्रिनुलाई सकारात्मक लिन सकिन्छ, तर खुसी हुने अवस्था छैन’


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार यस वर्षको माध्यमिक शिक्षाको अन्तिम तह (कक्षा १२) को नतिजा सार्वजनिक गरेको छ । यस वर्षको नतिजामा गत वर्षभन्दा केही सुधार देखिएको छ ।

परीक्षा बोर्डले विगत ५ वर्षयताकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गरेको छ । नतिजामा केही सुधार देखिए पनि अंग्रेजी, लेखा, सामाजिक नेपालीलगायत विषयको नतिजा निराशाजनक छ । साथै पछिल्लो समय उत्तीर्ण भएका विद्यार्थीहरू बिदेसिने लहर नै चलेको छ ।

३ प्रश्नको आजको अंकमा हामीले शिक्षाविद् विद्यानाथ कोइरालासँग नतिजामा सुधार आउनुको कारण, कमजोरी देखिएका विषयहरूमा सुधारका लागि गर्नुपर्ने काम र विद्यार्थीहरूलाई स्वदेशमै भविष्य खोज्ने वातावरण निर्माणका लागि गर्नुपर्ने पहलकदमी तथा ल्याउनुपर्ने नीतिको विषयमा कुरा गरेका छौँ ।

विगत ५ वर्षयताकै उत्कृष्ट नतिजा आएको छ, नतिजामा सुधार आउनुलाई तपाईँले कसरी लिनु भएको छ ?

पछिल्लो समय विद्यार्थीहरूले प्रश्नपत्रको नमुना र पठन सामग्री सहजै पाउन थालेका छन् । साथै उनीहरूले पढाइमा कृत्रिम बौद्धिकता (एआई) को समेत सहयोग लिन थालेको पाइन्छ । प्रश्नपत्रमा पुरानै प्रश्नहरू बढी दोहोरिएको अवस्था पनि छ ।

शिक्षामा स्थानीय तहदेखि प्रदेश र संघ सरकारले लगानी गरेका छन्, मिहिनेत गरेका छन्, त्यसको प्रतिफल देखिएको हो । यो स्वाभाविक पनि हो । तर, अहिले नै नेपालको शिक्षा प्रणाली सुधार भयो भनेर खुसी भइहाल्ने अवस्था भने छैन ।

पास हुने विद्यार्थीको संख्या बढ्नुमा परीक्षा कसरी सञ्चालन भयो र उत्तरपुस्तिका कसरी परीक्षण गरियो भन्ने कुराले प्रभाव पारेको छ । नतिजामा भएको सुधारलाई सकारात्मक रूपमा लिन सकिए पनि गुणस्तरमा अझै ध्यान दिनुपर्नेछ ।

अंग्रेजी, लेखा, सामाजिक र नेपाली विषयमा नतिजा कमजोर देखिनुको कारण के होला ?

शिक्षकले पढाउन नजानेर र विद्यार्थीले पढ्न नजानेर नै कमजोर भएको हो । किताबबाट मात्र सिकाइ भयो, व्यावहारिक ज्ञानको माध्यमबाट सिकाइ भएन । नेपालमा विभिन्न भाषाभाषीका मानिसहरू बसोबास गर्छन् । सबैको मातृभाषा फरक छ । भाषाका कारण पनि पढाइमा समस्या परेको अवस्था छ ।

नेपाली भाषालाई आफ्नो भाषामा बुझ्न गाह्रो भएका कारण नै नेपाली विषयमा कमजोर देखिएको हो । पछिल्लो समय मानिसहरूमा सहरीकरणको प्रभाव परेको छ । सहरीकरण प्रभावले पनि विद्यार्थीहरूले सामाजिक परिवेश नदेख्दा सामाजिक विषयमा कमजोर भएको अनुमान गर्न सकिन्छ ।

अहिलेको समयमा कक्षा १२ पास भएपछि विदेश जाने चलन नै चलेको छ, विद्यार्थीहरूलाई स्वदेशमै राख्न सरकार र सम्बन्धित निकायहरूले के–कस्ता कार्यक्रम ल्याउनुपर्ला ?

नेपालमा सम्भावनाका क्षेत्रहरू धेरै छन् । जुन सम्भावनाका विषयहरूलाई लिएर नयाँ अवसर प्रदान गर्नुपर्छ । विद्यार्थीहरूले चाहेअनुरुपको कोर्स पढ्न पाउनुपर्छ ।

कक्षा १२ सम्म मानविकी पढे पनि उनीहरूले अन्य विषय पढ्न पाउने नियम लागू हुनुपर्छ । अन्य मुलुकहरूमा जस्तै सातामा २ वा ३ दिन पढाइमा समय दिने, अरू समय काममा व्यस्त रहने प्रणाली ल्याउनुपर्छ ।

विकसित मुलुकका विश्वविद्यालयहरूसँग सहकार्य गरेर त्यहाँ पढाइ हुने कोर्सहरूमा अध्ययन गरेर स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहसम्मको प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था मिलाउन सकेमा युवाहरूलाई यहीँ राख्न सकिन्छ ।

त्यस्तै उनीहरूद्वारा उत्पादित वस्तु तथा सामानहरूलाई स्थानीय स्तरमै विभिन्न उचित कार्यक्रम आयोजना गरेर बजार व्यवस्था गर्ने जस्ता कार्यले पनि युवाहरूमा हौसला प्रदान गर्न सकिन्छ ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार  १४ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।