रासायनिक मल आपूर्ति–वितरण सहज र पारदर्शी बनाउने ओलीको निर्देशन


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दै छन् ।

प्रधानमन्त्रीले सो विषयमा आज अपराह्न छलफल गर्न कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डाक्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

देशमा मलको मौज्दात रहेको र आयातको क्रम पनि जारी रहेका बेला किसानले समयमा मल नपाएको गुनासो सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले यो समस्या समाधानमा आफूलाई केन्द्रित गरेका छन् । यसै सन्दर्भमा प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

यसअघि पनि प्रधानमन्त्री ओलीले कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँगको छलफलमा मलको अभाव हुन नदिन, स्वदेशमा नै रासायनिक मलको उत्पादन कारखाना स्थापना तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने योजना तर्जुमा गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार  ११ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।