रसुवागढी नाका सञ्चालनमा आउने झिनो सम्भावना, तातोपानी बन्द हुँदा दशैंमा सामान अभाव !


काठमाडौँ । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गर्दा चीनबाट सामान बोकेर आएका सयौँ कन्टेनर सिमानामा रोकिएका छन् । जसले गर्दा यो वर्षको दशैंमा बजारमा सामानको अभाव हुने र सरकारले ठुलो मात्रामा राजस्व गुमाउने देखिएको छ ।

रसुवागाढी नाका दशै अगाडि सञ्चालनमा आउने केही सम्भावना भएपनि तातोपानी नाका भने सञ्चालनमा आउने सम्भावना छैन ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार चीनियाँ पक्षले बेलिब्रिजको लागि नेपाल तर्फको भुई ढलान गर्ने काम सम्पन्न गरिसकेको छ ।

यसले दशैं अगाडि रसुवागढी नाका सञ्चालन हुने सम्भावना देखिएको हो । नाका सञ्चालन गर्ने तयारी भएपनि पूर्ण रुपमा आश्वस्त हुने अवस्था भने छैन ।

निरन्तर प्रयास गरिरहेको भएपनि लगातारको वर्षाले गर्दा नाका खुलाउन नसकिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । उनका अनुसार नाका आसपासको बस्तीहरु पनि जोखिममा परेका छन् ।

तर तातोपानी नाका भने दशैं अगाडि सञ्चालनमा आउने सम्भावना छैन । जसले गर्दा यो वर्षको दशैं महङ्गो हुने भएको छ । तातोपनी नाका आसपासको क्षेत्र २०७२को भुकम्पले दलदलमा परिणत भएपछि सामान्य पानी पर्दा पनि नाका अवरुद्ध हुने गरेको सिन्धुपाल्चोकबाट निर्वाचित निवर्तमान सांसद माधव सापकोटाले बताए ।

चाडपर्व नजिकिँदै गर्दा चिनतर्फका मूख्य दुई नाका रसुवागढी र तातोपनी पूर्ण अवरुद्ध रहेका छन् । यसरी मूख्य दुबै नाका अवरुद्ध हुँदा यसपालीको दशैं र तिहारमा काठमाडौँ उपत्यका लगायत स्थानमा सामानको अभाव हुने देखिएको छ ।

कुहिने सामान फलफुलहरु बोकाएर ल्याउने काम भएको र अन्य वस्तु ल्याउन नसकिएको बताइएको छ ।

समग्रमा हेर्दा लगभग दुई कन्टेनर मात्र समान बोकेर ल्याइएको हिमालय सिमापार वाणिज्य संघले जनाएको छ ।

वैकल्पिक नाकाको रुपमा कोरला नाका प्रयोग गरिएको थियो । तर उक्त नाका पनि अवरुद्ध हुँदा त्यो बाटो पनि बन्द भएको संघका अध्यक्ष रामहरि कार्कीले बताए । उनका अनुसार बोकाएर ल्याएको समान ५ देखि १० प्रतिशतसम्म मूल्य बढ्ने सक्नेछ, उनले भने “समान महङ्गो त हुन्छ नै सबै समान बाटोमै रोकिएको अवस्थामा अभाव पनि हुनेछ ।” यसले व्यवसायीले ठुलो घाटा व्यहार्नुपर्ने भएको छ ।

व्यापारीहरुले गोदाम भाँडा, यातायात भाडा बैंकको ब्याज सबै कुराहरुले ठुलो नाक्सानी र घाटा खेप्नुपर्ने भएको उनको भनाई छ ।

लामो समयदेखि तातोपानी नाका बन्द हुँदा सरकारले ठुलो मात्रामा राजस्व गुमाउने परेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

चाल आर्थिक वर्षको दुई महिनामा लक्ष्यको ३९ प्रतिशत मात्र राजस्व संकलन भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ४३ प्रतिशत राजस्व संकलन भएको बताए ।

भदौ महिनामा भने जम्मा तिन दिनमात्र भन्सार नाका सञ्चालनमा आएको उनी बताउँछन् । साउनमा कार्यालयले १ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयले भदौमा २ अर्ब १० करोड १३ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

चालु आर्थिक वर्षको दुई महिनामा ४ अर्ब ३ करोड ५० लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा १ अर्ब ५७ करोड ३६ लाख ६७ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।

नाका खुलाउनको लागि प्रयास भइरहेपनि आसपासको क्षेत्रको जमिन भूकम्पले कमजोर बनाएको हुँदा वर्षेनी लगातार पहिरो खरिरहेको निवर्तमान सांसद सापकोटा बताउँछन् ।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार  १४ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।