काठमाडौँ । चाडपर्वका बेला विदेशमा रहेका नेपालीले पठाउने विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि हुने देखिएको छ । रेमिट्यान्स कम्पनीहरुका अनुसार चाडपर्वको समयमा अरु समयको भन्दा करिब २० देखि २५ प्रतिशत सम्म विप्रेषण आप्रवाह बढ्ने गरेको छ ।
आइएमइ पेका प्रमुख सुमन पोखरेलका अनुसार, ‘चाडपर्वको समयमा अरु बेलाको भन्दा २० देखि २५ प्रतिशत सम्म विप्रेषण आप्रवाह बढ्ने देखिन्छ ।’ विगतका वर्षहरुको तथ्यांकले यस्तो देखाएको उनी बताउँछन् ।
यस्तै नेपाल रेमिटका अध्यक्ष रितेश मित्तल पछिल्लो समय भएको जेन जी आन्दोलनले देशमा लुटपाटका घटना बढ्ने डर त्रासको वातावरण भएकोले विगतका वर्षहरुमा भन्दा केहि कमी आउँछ कि भन्ने छ । उनी भन्छन्, ‘विप्रेषण आप्रवाहले यो समयमा आन्तरिक अर्थतन्त्र चलायमान बनाउँछ ।’
यस्तै राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितका अनुसार चाडपर्वको समयमा विप्रेषण आप्रवाहमा वृद्धि हुने देखिएको छ । जसले गर्दा अर्थतन्त्र चलायमान हुने देखिएको हो ।
रेमिट्यान्स कम्पनीहरुका अनुसार विप्रेषण विशेष गरेर मध्यपुर्वका देशहरु कतार, साउदी, मलेशिया बाट बढी आउने गरेको छ । पछिल्लो समय युरोप, अमेरिकाबाट जापान, कोरिया लगायत देशबाट पनि विप्रेषण आप्रवाह बढ्दै गएको छ ।’
चाडपर्वको समयमा विदेशमा रहेका नेपालीहरुले परिवारको खुसीको लागि रकम पठाउँछन् । यो रकम जब बजारमा चलायमान हुन्छ, देशको समग्र अर्थतन्त्र पनि चलायमान हुने विज्ञहरू बताउँछन् । अर्थविद डिल्लीराज खनालका अनुसार विप्रेषण आप्रवाहले देशको अर्थतन्त्र चलायमान बनाउनमा धेरै ठुलो योगदान पुर्याउँछ । अहिलेको विषम परिस्थितिमा विप्रेषणले देशको अर्थतन्त्र उकास्नमा महत्वपूर्ण योगदान पर्याउने उनको भनाइ छ । पछिल्लो समय आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडले अर्थतन्त्रमा गम्भिर क्षति पुगेको अवस्थामा विप्रेषणले अर्थतन्त्र गतिशील बनाउन सहयोग गर्नेछ ।
अर्थविदहरुले विप्रेषणको सुदपयोग गर्न सबैलाई सुझाव दिएका छन् । उनीहरुका अनुसार चाडपर्वको समयमा अनावश्यक वा फजुल खर्च नगरेर आफ्नो आवश्यकता पुरा हुने गरेर र आफ्नो मान्छेले विदेशमा दुख गरेको छ भन्ने कुरालाई मनन गरेर खर्च गर्न सुझाव दिएका छन् । विप्रेषणलाई बचत र लगानीमा जोड दिन उत्पादनशील क्षेत्रमा लगानी गर्न, ऋण तिर्नमा खर्च गर्न, सम्पत्ति आर्जन हुने काममा खर्च गर्न र सीप विकास तथा तालिम लिने क्षेत्रमा खर्च गर्न सुझाव दिएका छन् ।
अर्थविदहरुका अनुसार चाडपर्वको समयमा बढेको विप्रेषण आप्रवाहले बजारलाई चलायमान बनाएर आन्तरिक अर्थतन्त्रलाई समेत चलायमान बनाउन महत्वपूर्ण भुमिका खेल्ने गरेको छ । त्यसैले यसको विवेकपूर्ण प्रयोगमा उनीहरुले जोड दिएका छन् ।
अर्थविद् खनालका अनुसार चाडपर्वमा बढी विप्रेषण आउँदा मानिसहरुको क्रय शक्तिमा वृद्धि हुन्छ । यसले मानिसहरुले नयाँ समानको खरिद गर्छन् । जसले बजारमा सामानको माग बढाउँछ र व्यापार व्यवसायलाई फस्टाउने काम गर्छ । उनी भन्छन्, ‘ आन्तरिक व्यापार व्यवसाय बढ्दा राजस्वमा वृद्धि भएर सरकारी अर्थतन्त्रमा सहयोग पुग्छ । साथै उत्पादन, उद्योग, व्यापार बढ्दा रोजगारीको सीर्जना पनि बढ्छ । यी क्रियाकलापबाट आएको राजस्व सरकारले विकास निर्माणका काममा खर्च गर्छ ।’
यस्तै अर्थविद कृष्णहरि बास्कोटाका अनुसार विप्रेषणबाट आएको पैसालाई बचत र उत्पादनशील क्षेत्रमा लगानी गरेमा यसले दीर्घकालीन रुपमा अर्थतन्त्रलाई बलियो बनाउँछ । उनी भन्छन्, ‘विदेशबाट विप्रेषणको पैसा आउँदा देशमा विदेशी मुद्राको सञ्चिती बढ्छ, जुन विदेशी मुद्रा देशको आयात र बाह्य भुक्तानीको लागि आवश्यक हुन्छ । पर्याप्त विदेशी मुद्रा सञ्चिती हुँदा अर्थतन्त्र स्थिर रहन्छ र वित्तीय जोखिम कम हुन्छ ।’ अर्थविद बास्कोटाका अनुसार नेपालको अर्थतन्त्रमा विप्रेषणको भूमिका धेरै महत्वपूर्ण रहेका छ ।












प्रतिक्रिया