मौद्रिक नीति आउनु अघि शेयर बजारमा चमक, सरकारी बैंक र लघुवित्तमा आकर्षण

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति घोषणा गर्दै गर्दा शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन पाँच अंक बढी बढेको बजार मौद्रिक नीतिको घोषणा हुनु अघि झण्डै सात अंकले बढेको छ ।

बजारमा लघुवित्त कम्पनीको माग बढ्दा धेरै मूल्य बढ्ने कम्पनीहरुको सूचीमा लघुवित्त कम्पनीहरु देखिएका छन् । मंगलबार पनि धेरै शेयरमूल्य बढ्ने कम्पनीको शिर्ष स्थानमा लघुवित्त कम्पनीहरुनै देखिएका थिए ।

त्यस्तै पछिल्लो दुई दिन यताको कारोबारमा दुई सरकारी बैंकको शेयर मूल्यसँगै कारोबार पनि बढ्न थालेको छ ।

मौद्रिक नीति पुँजी बजारमैत्री हुने अपेक्षमा लगानीकर्ता रहदा बजारमा सकारात्मक प्रभाव देखिएको हो । केन्द्रीय बैंकले विशेष गरी ब्याजदर घटाउन तथा तरलता सहज पार्न सक्ने गरी मौद्रिक उपकरणको परिचालन गर्ने विश्वासमा लगानीकर्तामा देखिन्छ ।

बुधबारको कारोबारमा पनि अन्तिम समयमा बजार सुधारीको हो । यसदिन नेप्सेसूचक ६.९० अंकले बढेर १२८४.०७ बिन्दुमा पुगेको छ । १७० कम्पनीको १३ लाख ४६ हजार ३३० कित्ता सेयर ४४ करोड ३४ लाख ८१ हजार ३९१ रुपैयाँमा किनबेच भएको छ ।

कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंकको ३ करोड ९९ लाख ४४ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा कृषि विकास बैंक र प्रभु बैंक रहेका छन् ।

एघार समूहको कारोबार भएको बजारमा फाइनान्स र उत्पादन तथा प्रसोधनको सूचक बाहेक सबै सूचक हरियो देखिएका छन्। निर्जीवन बिमा समूह सबैभन्दा धेरै ६८.४४ अंकले बढेको छ । वाणिज्य बैंक समूहमा पनि ६.२३ अंकले सुधार आएको छ ।

गणपती माइक्रोफाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै झण्डै दश प्रतिशतले बढेको छ । यता, युनियन हाइड्रोपावरको शेयर सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ ।