प्रभु लाइफको ३ दिनमा २१२ कित्ता शेयर मात्र खरीद बिक्री, कारोबार रकम घट्दै

0
Shares

प्रभु लाइफ इन्स्योरेन्सको धितोपत्रको दोस्रो बजारमा कारोबार खुलेको तीन दिनमा जम्मा २१२ कित्ता शेयर मात्र कारोबार भएको छ ।

आइतबार दोस्रो बजारमा कारोबार खुलेको इन्स्योरेन्सको पहिलो दिन इन्स्योरेन्सको १२० कित्ता शेयर कारोबार भएको थियो । दोस्रो दिन ६२ कित्ता शेयर कारोबार भएकोमा तेस्रो दिनमा अझ घट्दै ३० कित्ता मात्र शेयर कारोबार भएको छ । कम्पनीको शेयर मंगलबार तीन ब्रोकरबाट १०/१० कित्ताका दरले ३ वटा कारोबार भएको हो ।

कारोबार आएको शेयर कित्ता घटेसँगै कम्पनीको शेयरमूल्य बढेपनि कारोबार रकम भने रकम छ । पहिलो दिन आइतबार १६ हजार ५६० रुपैयाँको शेयर कारोबार भएको प्रभु लाइफको दोस्रो दिन ८ हजार ९६८ रुपैयाँ र तेस्रो दिन ४ हजार ६५० रुपैयाँको शेयर कारोबार भएको हो ।

कारोबार सुरु भएको पहिलो दिन आइतबार प्रतिकित्ता १३७ रुपैयाँमा पहिलो कारोबार खुलेको इन्स्योरेन्सको सो दिन १४१ रुपैयाँमा कारोबार बन्द भएको थियो । यस्तै दोस्रो दिन २.८४ प्रतिशतले शेयरमूल्य बढेर १४५ रुपैयाँमा अन्तिम कारोबार भएको कम्पनीको शेयर तेस्रो दिन भने ८.९७ प्रतिशतले बढेर १५८ रुपैयाँ पुगेको छ । मंगलबार इन्स्योरेन्सको पहिलो १५२ रुपैयाँ कारोबार खुलेको थियो ।

इन्स्योरेन्सको तल्लो रेञ्जमा कारोबार खुलेका कारण दोस्रो बजारमा अपेक्षित कारोबार हुन नसकेको हो । अन्य जीबन बीमा कम्पनीहरुको शेयरमूल्य ६०० रुपैयाँभन्दा माथि रहँदा यो कम्पनीको पनि सोही रेञ्जमा पुग्ने आम अपेक्षा लगानीकर्तामा छ । सोही कारण सस्तो मूल्यमा आईपीओ पाएका लगानीकर्ताले शेयर बिक्री गर्न नचाँहादा शेयरको मूल्य माथि जान सकेको छैन ।

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म कूल ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । सो मध्ये सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३/३ लाख गरी ६ लाख कित्ता छ्ट्टाएर ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो । कम्पनीको आईपीओ ५ लाख ४० हजार आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।