काठमाडौं । तिहार नजिकिएसँगै भाइ मसलाको मूल्य आकाशिन थालेको छ । व्यापारीहरुले मसलाको आयात कम देखाउनको लागि अवैध आयात गरी मूल्य बढाएका हुन् ।
तिहारको मुखमा ओखरको मूल्य होलसेलमा प्रतिकिलो ४५० बाट ४७० रुपैयाँ, खुद्रामा ५५० रुपैयाँसम्म पुगेको छ।
त्यस्तै, दशैंमा ५५० रुपैयाँमा पाइने नरिवल अहिले ७०० रुपैयाँ प्रतिकिलोमा पुगेको छ। पेस्ता होलसेलमै २ हजार ५० रुपैयाँ, खुद्रामा २ हजार ७ सय रुपैयाँसम्म पुगेको छ। त्यसैगरी, अन्जिर २ सय रुपैयाँ बढेर २ हजार ३ सय रुपैयाँ प्रतिकिलो, मखना १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
खुला सिमाना भएको कारणले गर्दा अवैध आयातको सम्भावना भएपनि भन्सारबाट हुने आयात भने नरोकिएको भन्सार विभागका सुचना अधिकारी किशोर बर्तौला बताउँछन् ।
अवैध आयात रोक्नको लागि नेपाल भारत सीमानामा गस्ती समेत परिचालन गरिएको उनको भनाइ छ ।
आयात घट्नुमा अवैध रुपमा हुने आयात मात्र नभएर स्वदेशमा भएको उत्पादन पनि कारण हो ।
तर यता भन्सार अधिकृतहरु भने कुनै स्थानमा सामान्य मात्रामा आयात भइरहेको भएपनि कुनै स्थानमा आयात शून्य रहेको बताउँछन् ।
भद्रपुर भन्सार कार्यालयका भन्सार अधिकृत अर्जुन प्रसाद सिटौला अहिले भाइमसलाको आयात शून्य रहेको बताउँछन् । उनका अनुसार विगतका वर्षहरुमा तिहार लक्षित भाई मसलाको आयात हुने गरेकोमा अहिले भने त्यस्तो आयात शून्य छ। पछिल्लो समय भएको आन्दोलनले अवैध आयातमा वृद्धि भएको उनको बुझाइ छ । विगतका वर्षहरुमा पनि खुला सिमानाका कारण अवैध आयात भएपनि केहि मात्रामा मात्र हुने र बाँकी भन्सार पास भएर आउने गरेको थियो तर यो वर्ष भने भन्सार पास शून्य रहेको छ ।
यस्तै नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलका अनुसार विगतका वर्षहरुमो जस्तो आयात देखिएको छैन् । नरिवलको आयात बढी भइरहेको बताउँदै उनी भन्छन,“ अन्य भाइमसलाको आयात भने विगतको जस्तो देखिएको छैन् ।” तर आयात घट्नुमा अवैध रुपमा हुने आयात मात्र नभएर स्वदेशमा भएको उत्पादन पनि कारण भएको उनको दाबी छ । पछिल्लो समय नेपालमा पनि भाइ मसलाको उत्पादन बढेको छ, यसले गर्दा पनि आयातमा कमि आएको छ उनी भन्छन्,“नेपालका किसानहरुले पनि उत्पादन बढाएका छन् स्थानीय व्यापारीहरुले यहिको डिलरहरुबाट खरिद गरेर बिक्री गर्ने गरेका छन् ।
चालु आर्थिक वर्षको दुई महिनामा १ अर्ब ५८ करोड ५७ लाख ८८ हजार रुपैयाँको २५ लाख २५ हजार ९५६ केजी भाईमसलाका सामान आयात भएका छन् ।
व्यापारीहरु पनि अवैध आयातले मूल्य बढाएको दाबी गर्छन् । सीमानामा हुने अवैध आयातले खुद्रा पसलहरुमा नै सामानको मूल्य बढेर आउने गरेको व्यापारीहरुको तर्क छ । नेपाल खुद्रा व्यापार संघका सदस्य बसन्त श्रेष्ठका अनुसार विगतका वर्षहरुमा भन्दा यो वर्ष नरिवलको मूल्यमा उच्च वृद्धि हुने देखिएको छ भने अन्य मसलाहरुमा पनि मूल्य बढ्ने देखिएको छ ।
साथै पछिल्लो समय आएको बाढी पहिरो र आन्दोलनको क्रममा विभिन्न स्थानमा आगजनी र तोडफोड हुँदा पनि भाई मसलाको आयातमा अवरोध आएको खुद्रा व्यापार संघका सदस्य बसन्त श्रेष्ठको बुझाई छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा १ अर्ब ५८ करोड ५७ लाख ८८ हजार रुपैयाँको २५ लाख २५ हजार ९५६ केजी भाईमसलाका सामान आयात भएका छन् ।
यो अवधिमा १७ करोड ८० लाख ३० हजार रुपैयाँको १ लाख ८७ हजार ६५३ केजी काजु आयात भएको छ । बदाम २३ करोड ७९ लाख ८० हजार रुपैयाँको १ लाख ११ हजार केजी आयात हुँदा २४ करोड ६४ लाख २ हजार रुपैयाँको ३ लाख ४७ हजार १६० केजी ओखर आयात भएको छ ।
यस्तै ४ करोड ६ लाख ६१ हजार रुपैयाँको २०० केजी पिस्ता, ४७ करोड ९ लाख ३४ हजार रुपैयाँको १६ लाख ७९ हजार केजी सुपारी आयात भएको भन्सार विभागले जनाएको छ ।
यस्तै २६ करोड ७३ लाख ४९ हजार रुपैयाँको ७७ हजार ८२७ केजी ल्वाङ आयात हुँदा ३ करोड ४ लाख ८ हजार रुपैयाँको र ११ करोड ४० लाख २४ हजार रुपैयाँको २२ हजार ६५३ केजी सुकुमेल आयात भएको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्षको यहि अवधिमा १ अर्ब ४६ करोड ८२ लाख ११ हजार रुपैयाँको ८५ लाख २१ हजार ९११ केजी मसलाजन्य सामग्री आयात भएको थियो । उक्त अवधिमा २६ करोड १ लाख ६८ हजार रुपैयाँको २ लाख ९८ हजार ९४६ केजी काजु आयात भएको थियो । बदाम १८ करोड ६४ लाख ५८ हजार रुपैयाँको २ लाख ३२ हजार ६९४ केजी आयात भएको थियो ।
यस्तै, २० करोड ९८ लाख ३९ हजार रुपैयाँको ६ लाख ७ हजार २२५ केजी ओखार आयात हुँदा २१ करोड ६२ लाख ३४ हजार रुपैयाँको १७ लाख १४ हजार ४१९ केजी सुपारी आयात भएको थियो ।
यसैगरि, ३१ करोड ७५ करोड २४ लाख रुपैयाँको ५४ लाख ४ हजार १३० केजी नरिवल, १६ करोड ४५ लाख ५२ हजार रुपैयाँको २ लाख १४ हजार ५३७ केजी ल्वाङ र ९ करोड ९४ लाख २९ हजार रुपैयाँको ३७ हजार १८३ केजी सुकुमेल आयात भएको थियो ।
गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा मूल्य वृद्धि भएको कारणले गर्दा आयात गरिएको रकम भने गत वर्षको भन्दा चालु आर्थिक वर्षमा बढी देखिएको व्यापारीहरुको भनाई छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार विगत वर्षको भन्दा चालु आर्थिक वर्षमा आयात हुँदा नै मूल्य वृद्धि भएर आएको छ, जसको कारण कम मात्रामा आयात हुँदा पनि रकम भने गत वर्षको भन्दा बढी देखिएको छ ।












प्रतिक्रिया