जेनजी आन्दोलनको २ महिना बितिसक्दा पनि बनेनन् उपकरण, राहदानी बनाउन साधारणलाई सास्ती


काठमाडौँ । जेनजी आन्दोलनपछि राहदानी बनाउनेको चाप बढ्न थालेको छ । जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीका कारण उपकरणमा समस्या आउँदा जिल्लाबाट काम नभएपछि राहधानी विभागमा चाप परेको हो ।

जेनजी आन्दोलनको २ महिना बितिसक्दा नि उपकरण बनेपछि सर्वसाधरणले सास्ती खेप्नुपरेको छ । अहिले विभागमा बिहानैदेखि राहदानी बनाउन घुइचो लाग्दा भीड थेग्न विभागलाई कठिन परिरहेको छ ।

जेनजी आन्दोलन अघिसम्म देशभरि सहजै बनाउन सकिने पासपोर्ट अहिले एक हप्तामा पनि नबनेको सर्वसाधारणको गुनासो छ । राहदानी बनाउनका लागि नै करिब एक साता सास्ती बेहोर्नुपरेको सिन्धुलीकी अस्मिता तामाङ बताउँछिन् । राहदानीकै लागि काठमाडौँ आएको ४ दिन भइसकेको उनी सुनाउँछिन् ।

‘अझै राहदानी बनाउन भने सकेको छैन । अनलाइन आवेदन भरेपछि मात्रै राहदानी बनाउने प्रक्रिया अघि बढ्छ भनेर काठमाडौँ आएको ३ दिन बित्दा बल्ल अनलाइन फारम भरियो । आज बायोम्याट्रिक्स हुन्छ कि भन्ने आश छ ।बायोम्याट्रिक्स भएपछि त २ दिनमा पासपोर्ट पाइन्छ कि ! ’ उनले भनिन् ।

तिन दिन बिहानदेखि बेलुकासम्म विभाग धाएर पासपोर्ट बनाएका चितवनका अजय खड्का राहदानी हातमा पर्दा खुशी भएका छन् । ‘सुरुमा अनलाइन फारम नै भर्न सकिएन, बल्लबल्ल फारम भरेको थिएँ, अस्तिदेखि धाएपछि बल्ल बन्यो’ खड्काले भने । अनलाइन फर्म मात्र भर्न पाए पनि छिटै काम हुने उनको भनाई छ ।

आन्दोलनअघि आवेदन फारम भरेर राहदानी पाउने आशमा रहेका गोरखाका अनिलले आन्दोलनका कारण आफूले सास्ती व्यहोर्नु परेको बताए । आन्दोलन अगाडी नै जिल्लाबाट राहदानी फारम भरेर आएको एक सातामा आन्दोलनका कारण आफ्नो राहदानी जलेका कारण पुन विभाग धाउनुपरेर सास्ती खेप्नु परेको सुनाए । अहिले राहदानी लिनका लागि आएको म्यासेजका आधारमा आफू आएको उनले बताए ।

अनिलका अनुसार, ‘मोबाइलमा भोलि विभागमा आएर आफ्नो पासपोर्ट संकलन गर्नुहोला भनेर म्यासेज आएको थियो, सोही अनुसार बिहान ९ बजेतिर आएर लाइनका बसे करिब एक घण्टा पछि राहदानी हातमा पर्यो ।’

त्यस्तै सास्ती व्यहोर्दै आएका अर्को व्यक्ति हुन् सोलुखुम्बुका भिम बहादुर थापा । उनी वैदेशिक रोजगारीमा जान सोलुखुम्बुबाट राहदानी बनाउन काठमाडौं आएको ६ दिन भयो । उनीसँगै उनका २ जना साथीहरु पनि आएका छन् । उनीहरू सबै जना पासपोर्टको आवेदन दिन कार्तिक २० गते काठमाडौंको त्रिपुरेश्वर राहदानी विभाग पुगेका थिए ।

आफूलाई राहदानीका लागि अनलाइन आवेदन भर्नुपर्ने समेत थाहा नभएको बताए । थापाका अनुसार, ‘अनलाइन फारम भरेपछि मात्रै विभागको अन्य काम सुरु हुने कुरा कर्मचारीबाट थाहा पाए । उनीहरूलाई कर्मचारीले साँझ ६ बजेपछि विभागको वेबसाइटबाट अनलाइन आवेदन दिन सकिने वा साइबरबाट आवेदन दिन सकिनेछ भने, सोही अनुसार साइबर गएर फारम भरिदिन भन्दा १/२ लाग्ने भनेर २ दिनमा अनलाइन आवेदन भरेर विभागमा आइ राहदानीका लागी आवेदन गरेको हो ।

सोही बमोजिम हिजो मोबाइलमा एसएमएस आएपछि आज राहदानी पाउने आशमा बसेको थापाले सुनाए ।

विभागका सूचना अधिकारी केशवराज पन्थीका अनुसार जेनजी आन्दोलन क्रममा विभिन्न १४ जिल्लामा पासपोर्ट सिस्टम बन्द भएका थिए । ‘जेनजी आन्दोलन पछाडि अहिले फारम संख्या कम खुलाएका छौं, कम खुलाएको हुनाले समस्या भएको छ, जेनजी आन्दोलन क्रममा भएको आगजनीले झन्डै १४ जिल्लामा सबै सिस्टम ध्वस्त भए,’ पन्थीले भने, ‘त्यहाँ बनेको पासपोर्ट पनि धेरैजसो जल्यो अथवा नष्ट भयो, अनि त्यसपछि त्यहाँ बनेका पासपोर्टहरूको एप्लिकेसन यहाँ हुन थाल्यो । सोही कारणले गर्दा भिड बढी भएको हो ।’

अब विस्तारै अन्य जिल्लाहरुबाट पनि काम सुरु हुन थालेको छ र आन्दोलनका कारण जलेका राहदानीहरुको पनि केही मात्रामा काम सकिएकनेले केही दिनमा भीड कम हुने उनले बताए ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार  १२ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।