कर्णाली प्रदेशमा सक्रिय बिमालेखको संख्या १३५.६३ प्रतिशतले बढ्यो


काठमाडौँ । कर्णाली प्रदेशमा सक्रिया बिमालेखको संख्या १३५.६३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८२-८३ को पहिलो चार महिनामा कर्णालीमा जीवन बीमा कम्पनीहरुका ५ लाख ७५ हजार ७१०सक्रिय बीमालेख रहेका छन् । गत आवको यहि अवधिमा यस्तो संख्या २ लाख ४४ हजार ३२८ थियो ।

यस्तै, चालु आर्थिक वर्षमा बागमती प्रदेशमा सक्रिय बीमालेख संख्यामा ५.४२ प्रतिशतले वृद्धि भएर १ करोड ३ लाख १३ हजार ४८७ पुगेको छ, जुन गत आवको चार महिनामा ९७ लाख ८३ हजार ५२५ रहेको थियो ।

यता, कोशी प्रदेशको बीमालेखमा ६२.६४ प्रतिशतले वृद्धि हुँदा बीमालेख संख्या १० लाख ९९ हजार ९४१ बाट बढेर १७ लाख ९० हजार ६७ पुगेको छ । गण्डकी प्रदेशको बीमालेखमा ९०.०९ प्रतिशतले वृद्धि भएर १० लाख ३ हजार ८२ पुग्दा लुम्बिनी प्रदेशको बीमालेखमा ९.४८ प्रतिशतले वृद्धि भएर ११ लाख ८ हजार ३७४ पुगेको छ । गत आवको यहि अवधिमा यी प्रदेशको बीमालेख क्रमशः ५ लाख २७ हजार ६७९ र १० लाख १२ हजार ४१७ रहेको थियो ।

चालु आवमा सक्रिय बीमालेख संख्यामा देशभरिमा १६.३६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो चौमासमा १ करोड ३८ लाख ४ हजार ६४७ रहेको सक्रिय बीमालेख संख्या बढेर चालु आवमा १ करोड ६० करोड ६३ लाख ४७८ पुगेको छ ।

मुलुकभरिको बीमालेख संख्यामा पनि बागमती प्रदेशको वर्चस्व रहँदा कर्णाली प्रदेश कमजोर देखिएको छ ।

 

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार  १२ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।