बेलिब्रिज निर्माणपछि रसुवागढी भन्सार नाका सञ्चालनको तयारी


काठमाडौँ । नेपाल–चीनबीचको व्यापारमा लाइफलाइनको रुपमा रहेको रसुवागढी भन्सार नाका पाँच महिनाको अवरोधपछि सञ्चालनमा आउने भएको छ । गत असार २४ गते आएको बाढीले मितेरी पुल बगाएका कारण नाका पूर्ण रूपमा बन्द भएको थियो ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईका अनुसार, चीनले निर्माण गरिरहेको बेलिब्रिजको काम अन्तिम चरणमा पुगेको छ । भट्टराईले भने, ‘पुल निर्माणको काम लगभग सकिएको छ । तर, नाका सञ्चालनका लागि चीनतर्फबाट पुल पूर्ण रूपमा बनाएर नेपाललाई हस्तान्तरण गरिनुपर्छ । त्यसैले, अहिले नै भन्सार सञ्चालनको यकिन मिति तोकिएको छैन ।’

लामो समयको बन्दपछि व्यापारिक गतिविधि ठप्प भएको नाका अब खुल्ने भएपछि आयात निर्यात सहज हुने विश्वास गरिएको छ ।

नेपाल–चीन व्यापारका महत्वपूर्ण नाकाहरू रसुवागढी र तातोपानी एकसाथ बन्द भएपछि त्यसको विकल्पको रूपमा कोरला नाका (मुस्ताङ) लाई प्रयोगमा ल्याइएको थियो । यद्यपि, यो नाका लागतको हिसाबले महँगो भए पनि तत्कालका लागि अन्य भरपर्दो विकल्प नभएका कारण सञ्चालनमा ल्याइएको थियो । हाल, अत्यधिक चिसोका कारण कोरला नाका सञ्चालनमा आउन नसक्ने भएपछि यो नाका अहिले बन्द भएको छ । कोरला नाका चिसोका कारण वर्षको धेरै महिना सञ्चालन गर्न नसकिने भौगोलिक अवस्थाको नाका हो ।

चाडपर्वको समयमा रसुवा र तातोपानी नाका लामो समय बन्द हुँदा दसैँ–तिहारका लागि खरिद गरिएका अर्बौं रुपैयाँ बराबरका सामग्री चीनमा नै रोकिएका थिए । जसको कारण नेपाली व्यवसायीहरूले ठुलो आर्थिक संकट भोग्नु परेको थियो । तर, अब रसुवागढी नाका सुचारु हुने खबरले व्यवसायीहरूमा केही आशा जगाएको भन्सार अधिकृत भट्टराईले बताएका छन् ।

रसुवागढी भन्सारबाट चालु आवमा ३८ करोड ८१ लाख ८८ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । यो आयातको तथ्यांक रसुवागढीमा बाढी पहिरो जानुअघि भित्रिएर भन्सार जाँचपासको क्रममा रहेका वस्तुको भएको उनको भनाई छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी दु्रवप्रसाद अधिकारीले पनि चीन–नेपाल जोड्ने बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा रहेको बताएका छन् ।

उनका अनुसार, ‘निर्माण सकिएपछि यसको प्राविधिक भारवाहन क्षमता (लोड क्यापासिटी टेस्ट) परीक्षण हुन्छ । परीक्षण सफल भएपछि मात्र चिनियाँ पक्षले नेपाल सरकारलाई पुल हस्तान्तरण गर्छ । पुल हस्तान्तरणका लागि नेपाल र चीनियाँ अधिकारीबिच समकक्षी बैठक हुन्छ । सो बैंठकमा नाका सञ्चालनको आधिकारिक मिति तय गरेपछि मात्र नाका सञ्चालन हुने उनको भनाई छ ।’ बाढीका कारण मितेरी पुल क्षतिग्रस्त भएपछि चिनियाँ पक्षले आफ्नै लगानी र प्रविधिमा यो बेलिब्रिज बनाएको उनले जानकारी दिए ।

साथै, पुलको अन्तिम चरणको काम भएसँगै स्याफ्रुबेँसी–रसुवागढी सडक चीन सरकारको अनुदान सहयोगमा विस्तार हुने र यो सडक खण्डमा निकुञ्जको जग्गा अस्थायी रूपमा प्रयोग गर्न दिने र निर्माण सामग्रीको दस्तुरमा छुट दिने निर्णय भएको छ । गल्छी–त्रिशुली–स्याफ्रुबेँसी–रसुवागढी सडकमध्ये दुई खण्ड नेपाल सरकार आफैले विस्तार अघि बढाएकोमा तेस्रो खण्ड विस्तार कार्यका लागि नेपाल र चीन सरकारबीच सन् २०१८ मा सम्झौता भएको थियो । चीनले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म करिब १६ किलोमिटर विस्तार कार्य गरिरहेको उनले बताए ।

यता करिब ३ महिना बन्द रहेर सञ्चालनमा आएको तातोपानी नाकामा रसुवा बन्दको प्रभाव खासै नपरेको तातोपानी नाकाका भन्सार अधिकृत तथा सूचना अधिकारी तुल बहादुर पाण्डेले बताएका छन् ।

गत वर्षको तुलनामा भने यस वर्ष थोरै मात्रामा वस्तु तथा सामान आयात भएको छ । चालु आर्थिक वर्षको चार महिनामा तातोपानी भन्सारबाट १३ अर्ब ३५ करोड ११ लाख १६ हजार रुपैयाँको वस्तु तथा सामान आयात भएको छ । जबकी गत आवको सोही अवधीमा १५ अर्ब ८३ करोड ७९ लाख ७ हजार रुपैयाँको सामान आयात भएको थियो ।

रसुवा नाका बन्द हुँदा तातोपानी नाकाबाट केही मात्रामा गाडीहरु आयात भने बढेको पाण्डेले बताए । ‘दशैँ अगाडीबाट नै सञ्चालनमा आए पनि विगतको अवस्थामा नै फर्किन भने समय लाग्यो, सञ्चालनमा आएको २/३ महिना हुँदा मात्र पहिलेकै अवस्था वस्तु तथा सामान आयात हुन थालेको छ’ उनले भने ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार  ०९ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।