वैदेशिक रोजगारीका २० लाख श्रमिक कोषमा आवद्ध : योगदान रकम ९७ अर्ब नाघ्यो


काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू आबद्ध हुने क्रम बढेको छ । कोषको पछिल्लो तथ्यांकअनुसार हालसम्म २० लाख २१ हजार ९२ जना वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू आबद्ध भइसकेका छन् ।

यससँगै कोषमा कुल योगदानकर्ताको संख्या २६ लाख ७७ हजार ७७० पुगेको छ । कोषले हालसम्म ९७ अर्ब ८ करोड रुपैयाँ योगदान रकम संकलन गरेको छ, जसमा १७ अर्ब ९१ करोड रुपैयाँ दाबी भुक्तानी भइसकेको छ । कोषमा अनौपचारिक क्षेत्रका ८०५, स्वरोजगारका ६२७ जना आवद्ध भएका छन् ।

यस्तै, २२ हजार ४६६ रोजगारदाता मार्फत ६ लाख ५५ हजार २४६ जना आबद्ध भएका कोषले जनाएको छ । कोषले श्रमिकका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको जनाएको छ ।

कोषका अनुसार, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा २ अर्ब ७४ करोड २० लाख २ हजार रुपैयाँ योगदान रकम संकलन भएको छ । उक्त शीर्षकमा २ अर्ब ५९ करोड २७ लाख ६५ हजार रुपैयाँ दाबी भुक्तानी भएको कोषको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा तथा आश्रित परिवार सुरक्षा योजनामा ६ अर्ब ४ करोड ८२ लाख ७२ हजार रुपैयाँ योगदान रकम संकलन भएकोमा ५३ करोड २८ लाख ७४ हजार रुपैयाँ दाबी भुक्तानी भइसकेको छ । वृद्ध अवस्था सुरक्षा योजनामा ७७ अर्ब ७७ करोड ९ लाख ७६ हजार रुपैयाँ योगदान संकलन भएकोमा १४ अर्ब ७८ करोड ९२ लाख ९७ हजार रुपैयाँ दाबी भुक्तानी भएको कोषले जनाएको छ ।

सरकारले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रूपमा कोषमा आवद्ध हुनैपर्ने व्यवस्था गरेपछि यसको प्रभावकारिता बढेको सामाजिक सुरक्षा कोषका सह-प्रवक्ता केदारनाथ ज्ञवालीले बताएका छन् ।

‘कोषले योगदानकर्तालाई स्वास्थ्य सुविधाको अतिरिक्त बचतको ब्याज, निश्चित अवधिपछि मासिक पेन्सन, घर सापटी, शैक्षिक सापटीलगायत सहुलियत प्रदान गर्दै आइरहेको छ । सरकारले २०७५ मंसिरदेखी योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक घोषणा गरेको थियो । त्यसपछि वैदेशिक रोजगार जाने तयारीमा रहेका, विदेशमा रोजगारीमा रहेका र स्वदेशमै स्वरोजगारमा रहेका श्रमिकहरु उत्साहजनक रुपमा कोषमा आवद्ध हुन थालेका छन् ’ उनले भने ।

उनका अनुसार हालसम्म सूचीकरण भएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिन आवेदन दिएका श्रमिक छन् । कोषमा आबद्ध हुनेको अवस्था हेर्दा वैदेशिक रोजगारीका क्रममा गन्तव्य देशमा कार्यरतभन्दा वैदेशिक रोजगारीका लागि जाने तयारीमा रहेकाको संख्या धेरै रहेको छ । विदेश जानेले अनिवार्य कोषमा योगदान गर्नुपर्ने बाध्यकारी व्यवस्था भएकाले संख्या बढी भएको उनले बताए ।

विदेशमा रहेकाको हकमा कतिपय ठाउँमा कोषको अनलाइन प्रणाली विकास क्रममै रहेको र भएका ठाउँमा पनि जनचेतनाको अभाव भएकाले आवद्धता संख्या थोरै भएको उनले बताए । कोषले २०७९ देखि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गर्न सुरु गरेको हो ।

सरकारले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नयाँ श्रमिकले श्रम स्वीकृतिपूर्व कोषको योजनामा अनिवार्य आबद्ध हुनुपर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगारी जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेलामा योजनामा समावेश हुन सक्ने भनिएको छ ।

कोषका अनुसार योजनामा समावेश हुने श्रमिकले मासिक दुई हजार दुई रुपियाँ बुझाउनु पर्छ । एकमुष्ठ छ महिना वा एक वर्षसम्मको रकम अग्रिम बुझाएमा जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइने व्यवस्था समेत रहेको ज्ञवालीले बताएका छन् ।

विदेशमा रहेका श्रमिक आबद्ध भएपछि योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले निवृत्तिभरण, सन्ततिलाई शैक्षिक वृत्ति र अन्तिम संस्कार खर्च पाउने कोषले जनाएको छ । त्यस्तै श्रमिकको मृत्यु भएमा अन्तिम संस्कारका लागि २५ हजार भुक्तानी गर्ने छ । जुनसुकै कारणबाट मृत्यु भएमा पनि न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले जीवनभर निवृत्तिभरण पाउने जनाइएको छ । वैदेशिक रोजगारी अन्त्य भएपछि एकमुष्ठ रकम लिन वा निवृत्तिभरण योजनामा सहभागी बन्न सकिने व्यवस्था रहेको कोषले गरेको छ ।

‘विगतमा विदेशमा रहँदा पैसा जम्मा गर्ने झन्झटिलो प्रक्रिया थियो । तर, हाल कोषले आफ्नो सिस्टमलाई सहज बनाएको छ । कोषको आफ्नो मोबाइल एप छ । त्यो एपबाट सहजै पैसा तिर्न सकिने अवस्था छ । एपमा गएर पनि ईसेवा, कनेक्ट आईपीएस लगायतबाट पैसा तिर्ने प्रावधान आएको छ । जसकारण अब वैदेशीक रोजगारीमा रहेका श्रमिकहरुलाई कोषमा रकम जम्मा गर्न सहज भएको छ ’ सहप्रवक्ता ज्ञवालीले भने ।

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार  १३ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।