एक महिनामा २८ खर्ब बढीको डिजिटल कारोबार, मोबाइल बैंकिङको प्रयोग सबैभन्दा धेरै


काठमाडौँ । मोबाइलको बढ्दो प्रयोग र इन्टरनेटको पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय कारोबार उल्लेख्य रुपमा बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो समय साना तथा खुद्रा कारोबारका लागि पनि डिजिटल कारोबार सहज भएको हो ।

बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष कात्तिक महिना मात्र २८ खर्ब ७७ अर्ब ९६ करोड २ लाख रुपैयाँ डिजिटल कारोबार भएको छ । मौद्रिक कारोबारहरु भौतिकभन्दा विद्युतीय प्रणालीबाट अत्याधिक हुँदै गएपछि एक महिनाको अन्तरालमा नै विद्युतीय भुक्तानीको कारोबार ३० प्रतिशतले बढेको हो । असोज महिनामा ६६ खर्ब ८ अर्ब ४९ करोड ८ लाख रुपैयाँ विद्युतीय कारोबार भएको थियो ।

विद्युतीय भुक्तानी सेवा अन्तर्गत कनेक्ट आइपीएस, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट र क्यूआरमार्फतको भुक्तानी गर्दै आएको बैंकले जनाएको छ । यी विभिन्न साधनहरुमध्ये प्रयोगकर्ताको पहिलो रोजाई भने मोबाइल बैंकिङ रहेको छ ।

चालु आवको कात्तिक महिनामा मोबाइल बैंकिङमार्फत मात्र ४ करोड ३९ लाख ८२ हजारभन्दा बढी पटक लेनदेन भएको छ । सो संख्यामा लेनदेन हुँदा ३ खर्ब ७४ अर्ब ६६ करोड ५ लाख रुपैयाँ भुक्तानी भएको हो ।
यस्तै, कात्तिक महिनामा कनेक्ट आइपिएस मार्फत १६ लाख ४९ हजार पटकमा १ खर्ब ६३ अर्ब ३२ करोड १ लाख रुपैयाँ भुक्तानी भएको छ । क्यूआर कोडमार्फत हुने भुक्तानी १ करोड ९३ लाख ११ हजार पटकमा ६६ अर्ब ८७ करोडभन्दा बढी भएको छ ।

कात्तिकमा डेबिट कार्ड मार्फत ९४ अर्ब ५७ करोड ६ लाख रुपैयाँ र क्रेडिट कार्डमार्फत २ अर्ब १ करोड ८ लाख रुपैयाँ कारोबार भएको छ भने इन्टरनेट बैंकिङ मार्फत १६ अर्ब ३७ करोड ६ लाख रुपैयाँ र वालेट मार्फत ३७ अर्ब ३१ करोड ७ लाख रुपैयाँ कारोबार भएको हो ।

चालु आवको कात्तिक महिनामा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीबाट मात्रै ७८ खर्ब १९ अर्ब ८६ करोड ९ लाख रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ । यस्तै, कात्तिकमा इलेक्ट्रोनिक चेक क्लियरेन्स (इसीसी) मार्फत ४ खर्ब ३९ अर्ब ९८ करोड रुपैयाँ बराबरको भुक्तानी हुँदा एटियममार्फत ९० अर्ब ५६ करोड रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ ।

बढ्दो स्मार्टफोनको विस्तार र इन्टरनेटको पहुँचसँगै हरेक मानिसमा नगदरहित कारोबारले ठूलो गति समातेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल बताउँछन् । बजारमा तरकारी खाद्यान्न वा अन्य सामान किन्नदेखि लिएर गाडी सवार गर्दासम्म नोट बोक्नु पर्दैन । सञ्चारका बिल खानेपानी बिल विद्युतीय महसुल इन्टरनेट वा टेलिभिजनका बिलहरुपनी सजिलै डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिन्छ यसो हुँदा डिजिटल कारोबारको व्यापक रुपमा प्रयोग बढेको उनको भनाई छ ।

‘सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूले पनि डिजिटल कारोबारको लागि बढवा दिइरहेका छन् । त्यसको मुख्य कारण सेवाग्राहिहरुलाई डिजिटल साक्षर बनाई बैंकमा हुने भिडर लाइन लाई कम गर्नु हो साथै ग्राहकहरुले छिटो र छरितो बैंकिङ सेवाको पहुँच पाउन भन्ने हो’ उनले भने । पछिल्लो समय नगद कारोबार व्यापक रुपमा घटेको बानेश्वरका एक किराना व्यापारी बताउँछन् । उनी भन्छन्, ‘१० रुपैयाँको सामान खरिद गर्दा समेत क्यूआर खोज्छन् । नगदबाट कारोबार त हुँनै छाड्यो । सबै मोबाइल बोकेर आउँछन्, सामान लिने वित्तिकै क्यूआरबाट भुक्तानी गर्छन् ।’

यसो हुँदा कारोबार भने सहज भएको उनी बताउँछन् । ‘नगद लिँदा फिर्ता दिने समय लाग्थ्यो, कस्तो पैसा आयो (नक्कली वा सक्कली) भन्ने झन्झट पनि हुने उनको भनाई छ ।

के हो डिजिटल कारोबार ?

खासगरी भौतिक मुद्राको उपस्थितिबिना नै इन्टरनेट तथा विद्युतीय उपकरणहरूको प्रयोगबाट वस्तु तथा सेवा खरिद बिक्री लेनदेन तथा अन्य भुक्तानीको कारोबारहरु गरिन्छ भने त्यस्तो कारोबारलाई डिजिटल कारोबार भनिन्छ । घरमै बसी वा आफू जुन ठाउँमा रह्यो त्यही ठाउँबाट कारोबार गर्न सकिने भएकाले डिजिटल कारोबार हिजोआज निकै लोकप्रिय बन्दै गएको छ ।

कोभिड १९ को महामारीको प्रभावमा नगद रहित कारोबारको सुरुवातसँगै नोटको प्रयोग घटेको छ । भने डिजिटल कारोबारको प्रयोग बढ्दो छ । हिजोआज कारोबारको तरिका फेरियो र नगद रहित डिजिटल कारोबारले व्यापकता पाएको छ ।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार  ११ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।