काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन–मंसिर) मा नेपालले ८ खर्ब बढीको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा २०.०७ प्रतिशत धेरै हो ।
गत आवको ५ महिनामा ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको व्यापार भएको थियो । चालु आवमा आयात र निर्यात दुवैमा सुधार हुँदा कुल वैदेशिक व्यापारको आकार समेत बढेको देखिएको छ ।
विभागका अनुसार पहिलो ५ महिनाको अवधिमा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १५.८३ प्रतिशत धेरै हो । अघिल्लो आवको मंसिरसम्म ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस वर्ष निर्यातमा भने उल्लेख्य सुधार देखिएको छ ।
पाँच महिनाको अवधीमा १ खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँ बराबरको वस्तु नेपालबाट निर्यात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ५८.१७ प्रतिशत धेरै हो । अघिल्लो आवको पाँच महिनाको अवधिमा ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ मात्र रहेको थियो ।
यी हुन् सबैभन्दा धेरै आयात भएका वस्तु
कुल आयात हुने वस्तुमध्ये सबैभन्दा ठुलो हिस्सा कच्चा सोयाबिन तेलको रहेको छ । पाँच महिनामा ४६ अर्ब ९७ करोड १ लाख रुपैयाँको कच्चा सोयाबिन तेल आयात भएको छ । दोस्रोमा ४५ अर्ब ६० करोड ६२ लाख रुपैयाँको डिजेल आयात भएको छ ।
त्यसैगरी सबैभन्दा धेरै आयात हुनेमध्ये तेस्रोमा २७ अर्ब ३३ करोड २ लाख रुपैयाँको पेट्रोल आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । यस्तै, २२ अर्ब ३९ करोड ४६ लाख रुपैयाँको खाना पकाउने ग्यास आयात भएको छ भने २१ अर्ब ८४ करोड ६३ लाख रुपैयाँको फलामजन्य सामग्री, १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँ बराबरको स्मार्टफोन, १९ अर्ब ७ करोड ३२ लाख रुपैयाँ बराबरको डायमोनियम फोस्फेट आयात भएको छ ।
त्यसैगरी १५ अर्ब ७२ करोड ११ लाख रुपैयाँको सुन आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
यी हुन् सबैभन्दा धेरै निर्यात भएका वस्तु
चालू आर्थिक वर्षमा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा सोयाबिन तेल परेको छ । कुल निर्यात करिब ४० प्रतिशत हिस्सा सोयाबिन तेलको रहेको छ । विभागका अनुसार पाँच महिनामा ४६ अर्ब ५५ करोड ८६ लाख रुपैयाँको सोयाबिन तेल निर्यात गरेको हो । नेपालको निर्यात व्यापारमा सोयाबिन तेलको ठूलो हिस्सा देखिए पनि सो तेलको कच्चा पदार्थ भने अन्य मूलुकबाट नै आयात भएको देखिन्छ ।
त्यसैगरी, दोस्रो स्थानमा अलैँची रहेको छ । पाँच महिनाको अवधीमा अलैँची निर्यातबाट ५ अर्ब ५३ करोड ३२ लाख रुपैयाँ आम्दानी भएको छ भने कार्पेट निर्यातबाट ४ अर्ब १३ करोड ४६ लाख रुपैयाँ आम्दानी भएको तथ्यांकले जनाएको छ ।
यसपछि, यस अवधिमा ३ अर्ब ७३ करोड ६८ लाख रुपैयाँको सूर्यमुखी फुलको तेल, २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँको फाइबरका कपडा, २ अर्ब ५८ करोड २६ लाख रुपैयाँको अन्य फेल्ट र २ अर्ब ५१ करोड २२ लाख रुपैयाँको पाम तेल निर्यात भएको हो ।
प्रमुख व्यापारिक साझेदार मुलुकहरू
नेपालको सबैभन्दा ठूलो आयात बजारका रूपमा छिमेकी मुलुक भारत कायमै छ । समीक्षा अवधिमा भारतबाट ४ खर्ब ३४ अर्ब ६ करोड ४२ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ । दोस्रोमा चीनबाट एक खर्ब ६३ अर्ब ७३ करोड ४८ लाख रुपैयाँको वस्तु तथा सामान आयात भएको भएको छ ।
त्यसैगरी, अर्जेन्टिनाबाट ४४ अर्ब ५६ करोड १२ लाख रुपैयाँ, यूएईबाट २३ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ, अमेरिकाबाट १० अर्ब ३५ करोड ७ लाख रुपैयाँ र इन्डोनएसियाबाट ७ अर्ब ८७ करोड ६४ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको विभागको तथ्यांकले देखाएको छ ।
निर्याततर्फ पनि भारत नेपालको सबैभन्दा ठूलो बजार रहेको छ । समिक्षागत अवधीमा ९५ अर्ब ४ करोड २० लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ । त्यसैगरी दोस्रोमा अमेरिका तर्फ ७ अर्ब ४२ करोड ६० लाख रुपैयाँ र तेस्रोमा जर्मनी तर्फ २ अर्ब १२ करोड ६० लाख रुपैयाँ बराबरको सामान निर्यात भएको हो ।
त्यस्तै, बेलायतमा १ अर्ब ४४ करोड ६४ लाख रुपैयाँ, फ्रान्समा ९६ करोड ६३ लाख रुपैयाँ, जापानमा ९४ करोड ५९ लाख रुपैयाँ र यूएईमा ८४ करोड ५५ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।












प्रतिक्रिया