काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा १९ अर्ब रुपैयाँ बराबरको स्मार्ट फोन आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार मंसिर मसान्तसम्म १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँ बराबरको १० लाख ७० हजार ६८० वटा स्मार्ट फोन भित्रिएका हुन् । सो आयातबाट सरकारले ३ अर्ब ५६ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षको तुलनामा स्मार्ट फोनको आयात २०.६७ प्रतिशत अर्थात् ३ अर्ब ९५ करोड ५८ लाख रुपैयाँले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा १५ अर्ब १८ करोड ११ लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार ७५४ थान स्मार्ट फोन आयात भएको थियो । सो आयातबाट २ अर्ब ८३ करोड ९ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
चीन र भारतको बजार हिस्सा ठूलो
नेपालमा चीन, भारत, अमेरिका, यूएई, अष्ट्रेलिया, जापान, कतार, कोरिया, यूके, लगायत ४६ वटा मुलुकबाट स्मार्टफोन आयात हुने गरेको छ ।
चालु आर्थिक वर्षमा सबैभन्दा बढी चीनबाट १५ अर्ब ४ करोड ५९ लाख रुपैयाँ बराबरको ९ लाख ५ हजार ७०७ वटा स्मार्टफोन आयात भएका छन् । सो परिणाममा स्मार्टफोन आयात गर्दा आयातकर्ताले २ अर्ब ८० करोड ५९ लाख रुपैयाँ राजस्व बुझाएका छन् ।
भारतबाट पनि नेपालमा स्मार्टफोन उल्लेख्य मात्रामा आयात भएको छ । दोस्रो स्थानमा रहेको भारतबाट ३ अर्ब ८७ करोड १९ लाख रुपैयाँमा १ लाख ६२ हजार २४७ वटा स्मार्टफोन आयात भएका छन् । सो परिमाणको आयातबाट ७२ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यसैगरी अमेरिकाबाट सो अवधिमा ४४४ वटा स्मार्टफोन भित्रिएको छ । उक्त फोन आयातबाट ५ करोड १ लाख रुपैयाँ बाहिरीएको छ भने, यूएईबाट ५१२ वटा फोन ४ करोड ८८ लाख रुपैयाँमा आयात भएको छ ।
त्यस्तै, अष्ट्रलियाबाट २७८ वटा फोन ३ करोड ३० लाख रुपैयाँमा आयात भएको छ भने, जापानबाट ३ करोड २२ लाख २९ हजार रुपैयाँको ४१४ वटा स्मार्टफोन आयात भएका छन् ।
कतारबाट १ करोड २५ लाख रुपैयाँको ६०४ वटा, कोरियाबाट १६६ वटा १ करोड १६ लाख ८१ हजार रुपैयाँमा स्मार्टफोन नेपाल भित्रिएका छन् भने, यूकेबाट ६५ लाखको ७३ वटा स्मार्टफोन आयात भएको भन्सार विभागले जनाएको छ ।
आयात बढेपनि व्यापारमा निराशा
भन्सारको तथ्यांकमा स्मार्टफोन आयात बढेको देखिएपनि व्यापार भने नफस्टाएको व्यापारीले बताएका छन् ।
नेपाल मोबाइल वितरक संघको अध्यक्ष रघु त्रिपाठीले मोबाइल कम्पनीले लन्च गर्ने नयाँ ब्रान्ड बिकेपनि/नबिकेपनि आयाकर्ताले ल्याउनैपर्ने अवस्थाले आयात बढेको बताए । दशैँमा बिक्री हुन्छ भनेर ल्याएको फोनहरु अझै पनि नबिकेको उनले सुनाए । यसरी नयाँ कम्पनीले बजारमा आउँदा पनि मोबाइलको आयातमा ठूलो फरक देखिएको उनी बताउँछन् ।
नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका प्रिमियम फोनमा नेटवर्क लकिङ गर्न थालेसँगै अवैध आयात नियन्त्रण हुने र बिक्री हुने आशा गरिए पनि बिक्री नबढ्दा व्यापारीहरु निराश बनेका अध्यक्ष त्रिपाठीले बताए ।
केही वर्ष अगाडी मानिसहरु सामान्य फोनबाट स्मार्टफोनमा जाने क्रम बढेको थियो, स्मार्टफोन पनि सस्तोमा उपलब्ध हुनु र सामाजिक सञ्जालले मानिसलाई आकर्षित गर्नुले पनि मोबाइल बजार आकासिएको थियो । तर अहिले अन्य फोन भन्दा आइफोनप्रति नै आकर्षण देखिएको उनले बताए ।
नेपालमा बनेको स्मार्टफोन बिदेशमा पनि
नेपालबाट समेत विदेशतर्फ स्मार्टफोन निर्यात हुने गरेको छ । नेपाल विदेशमा उत्पादित स्मार्टफोनको ठुलो बजार हो । वर्षेनी विदेशबाट अर्बौ रुपैयाँको स्मार्टफोन नेपाल भित्रिन्छ । तर, नेपालबाट समेत विदेशतर्फ मोबाइलको निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ ।
चालू आर्थिक वर्ष पाँच महिनाको अवधिमा नेपालबाट २० लाख रुपैयाँको स्मार्टफोन निर्यात भएको छ । यस अवधिमा नेपालबाट १० वटा मोबाइल निर्यात भएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
गत आर्थिक वर्षको यही अवधिमा १ लाख ७० हजार रुपैयाँको स्मार्टफोन निर्यात भएको थियो । हालसम्म नेपालमा बनेको स्मार्टफोन भुटानमात्र निर्यात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।












प्रतिक्रिया