कुल निर्यातको ६० प्रतिशत हिस्सा सोयाबिन तेलको, रि–एक्सपोर्टले व्यापार देखिएपनि अर्थतन्त्रमा छैन सुधार


काठमाडौँ । नेपालबाट निर्यात हुने वस्तुहरूमा ६० प्रतिशत हिस्सा सोयाबिन तेलको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा कुल १ खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँको बराबरको निर्यात भएको छ, जसमा ६०.३ प्रतिशत अर्थात् ४६ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ बराबरको सोयाबिन तेल मात्र निर्यात भएको छ ।

जबकी सोही अवधीमा अन्य मुलुकबाट कच्चा सोयाबिन तेल ४६ अर्ब ९७ करोड रुपैयाँको आयात भएको भएको विभागले जनाएको छ ।

निर्यातमा सोयाबिन तेलको हिस्सा आधाभन्दा बढी देखिए पनि यो स्वदेशी उत्पादन नभई कच्चा पदार्थ आयात पुनः प्रशोधन गरेर निर्यात गरिएको हो । व्यापार विज्ञहरुका अनुसार कच्चा पदार्थ आयात गरी थोरै भ्यालु एड गरेर निर्यात गरिदा यस्तो व्यापार दीर्घकालीन हुँदैन र यसले अर्थतन्त्रमा दिगो सुधार ल्याउँदैन ।

दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) को सुविधाका रुपमा नेपालका व्यवसायीले खानेतेलमा एक तहको प्रशोधन र मूल्य अभिवृद्धि गरी लाभ पाएका छन् । साफ्टा सुविधाअन्तर्गत भारतले नेपाललाई भन्सार छुट सुविधा उपलब्ध गराइरहेका कारण त्यसलाई नेपाली व्यवसायीले अवसरका रुपमा लिएको देखिएको छ ।

पाम तेलको नियती दोहोरिने जोखिम

विगतमा नेपालबाट पाम तेलको निर्यात उच्च हुने गरेको थियो । तर, वि.सं. २०७७ मा भारतले पाम तेल आयातमा कडाइ गरेपछि नेपालको निर्यात व्यापार खस्किएको थियो । त्यसयता व्यवसायीहरुले सोयाबिनको तेलको निर्यात बढाएका हुन् ।

सोयाबिन तेलमा पनि भारतले नीति परिवर्तन गरेको अवस्थामा नेपालको निर्यात व्यापार ठप्प हुने निश्चित छ, जसकारण आयातित सोयाबिन तेलले निर्यातको आँकडा बढाए पनि यसमा खुसी हुने अवस्था नरहेको अर्थविद् चन्द्रमणी अधिकारी बताउँछन् । उनी भन्छन्, ‘सोयाबिन तेलमा पनि भारतले कुनै नयाँ नीति ल्यायो वा कडाई गर्याे भने निर्यात ठप्प हुन्छ । भारतमा उच्च ट्यारिफ रहेका कारण तेल नेपालमा छाप लगाएर भारतमा तेल गइरहेको हो । भारतमा ट्यारिफ घट्ने वित्तीकै हिजोको पाम तेल जस्तै हालत सोयाबिन तेलमा पनि नहोला भन्न सकिदैन ।’

उनका अनुसार नेपालमै भटमास उत्पादन गरेर तेल निर्यात नगरेको हुनाले तेलको निर्यातले स्वदेशी अर्थतन्त्रमा योगदान पु¥याएको छैन । नेपालमै उत्पादन हुने वस्तुहरूको निर्यात घटिरहेकोले यसबारे ध्यान दिनुपर्ने उनको सुझाव छ ।

सात समुद्र पारिबाट आउँछ कच्चा पदार्थ

नेपालले निर्यात गर्ने सोयाबिन तेलको कच्चा पदार्थ दक्षिण अमेरिकी मूलुकहरुबाट आउने गरेको छ । चालु आर्थिक वर्षको मंसिरसम्ममा अर्जेन्टिना, ब्राजिल, पाराग्वे, थाइल्यान्ड र कतारबाट कच्चा सोयाबिन तेल आयात भएको छ । विभागको तथ्यांक अनु्सार यी मुलुकबाट ४६ अर्ब ९७ करोड १ लाख रुपैयाँको ३० करोड ३७ लाख ६६ हजार लिटर कच्चा सोयाबिन तेल आयात भएको छ । सो कच्चा तेल आयातबाट सरकारले १ अर्ब ८७ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

यो अवधिमा सबैभन्दा धेरै अर्जेन्टिनाबाट ३९ अर्ब २४ करोड २ लाख रुपैयाँको २५ करोड २८ लाख ५७ हजार लिटर कच्चा तेल आयात भएको छ । सो परिमाणमा कच्चा तेल आयात गर्दा १ अर्ब ४८ करोड ६३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै, ४ अर्ब ८५ करोड ६१ लाख रुपैयाँको ३ करोड २७ लाख ७४ हजार लिटर ब्राजिलबाट आयात भएको छ । तेस्रोमा, पाराग्वेबाट १ अर्ब ४७ करोड ८८ लाख रुपैयाँको ९८ लाख २ हजार लिटर तेल आयात भएको छ ।

कुन वर्ष कति आयात–निर्यात गरियो ?

भन्सार विभागका अनुसार २०७८/७९ को पाँच महिनाको अवधीमा ३३ अर्ब ६६ करोड ५४ लाख रुपैयाँको तेल आयात भएको थियो भने उक्त वर्ष ३० अर्ब ५५ करोड ८० लाख रुपैयाँको निर्यात भएको थियो ।
त्यस्तै, २०७९÷८० को सोही अवधीमा २० अर्ब ६८ करोड २ लाख रुपैयाँको कच्चा सोयाबिन तेल आयात भएको र तेल निर्यात भने ६ अर्ब ९८ करोड ८१ लाख रुपैयाँको भएको थियो ।

आव २०८०/८१ मा आयातभन्दा निर्यात धेरै कम भएको तथ्यांकमा देखाइएको छ । सो वर्ष ७ अर्ब २१ करोड १९ लाख रुपैयाँको कच्चा तेल आयात हुँदा निर्यात भने ३६ करोड ३१ लख रुपैयाँको मात्र भएको थियो ।
त्यस्तै, आव २०८१/८२ मा १३ अर्ब ४१ करोड ५४ लाख रुपैयाँको आयात हुँदा निर्यात ४ अर्ब ९६ करोड ३३ लाख रुपैयाँको भएको थियो भने चालु आवमा ४६ अर्ब ९७ करोड १ लाख रुपैयाँको कच्चा तेल आयात हुँदा ४६ अर्ब ५५ करोड ८६ लाख रुपैयाँको निर्यात भएको छ ।

सरकारलाई राजस्व, अर्थतन्त्रलाई परनिर्भरता

आयातित वस्तुबाट सरकारले राजस्व मात्र प्राप्त गर्ने देखिएको छ । आयातित वस्तु पुनः निर्यात गर्दा सरकारले मुख्यतया कर्मचारीको तलबमा काटिने टीडीएस र कम्पनीको नाफामा लाग्ने आयकरबाट मात्र राजस्व प्राप्त गर्छ । निर्यातमा भन्सार शुल्क र मूल्य अभिवृद्धि कर नलाग्ने तथा कच्चा पदार्थको आयात शुल्क पनि फिर्ता हुने व्यवस्था छ ।

त्यसैले आयातति वस्तुले निर्यात बढाउनुभन्दा नेपालमा उत्पादन हुने अलैँची, चियाँ, कफी, छुर्पीलगायत नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने र नेपालमा नै भटमास खेतीलाई प्रोत्साहन गर्न सके मात्र नेपालको निर्यात व्यापारले अर्थतन्त्र सुधार हुने विज्ञहरु बताउँछन् ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार  ०७ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।