सुनको विकल्प बन्दै चाँदी, एक वर्षमा तीन गुणाले बढ्यो भाउ


काठमाडौँ । पछिल्लो समय सुन महँगिएपछि लगानीकर्ताहरुको नजर यतिबेला चाँदीतर्फ केन्द्रित भएको छ । नेपालमा मात्र होइन अहिले विश्व बजारमै सुनको विकल्प चाँदी बन्दै गएको हो । यसरी सुनको विकल्पको रुपमा चाँदीलाई लिइदा चाँदीको मूल्य पनि आकासिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले बताएका छन् ।

विश्वभरि सोलार प्यानल, ब्याट्री, इलेक्ट्रोनिक्स र स्वास्थ्य उपकरण लगायतका साधनहरुमा चाँदी प्रयोग गर्ने गरिन्छ । वार्षिक रुपमा विश्वभरी उत्पादन हुने चाँदीको करिब २५ प्रतिशत सौर्य ऊर्जा उद्योगहरुले मात्र खपत गर्ने गरेको उनी बताउँछन् ।

सुनको तुलनामा चाँदीको मूल्य निकै कम हुन्छ, जसले गर्दा मध्यमवर्गीय उपभोक्ताहरूका लागि यो सहज रूपमा उपलब्ध छ । थोरै बजेट हुनेहरूले पनि चाँदीका गहना खरिद गर्न वा यसमा लगानी गर्न सक्छन् ।
यस्तै लगानीकर्ताहरूका लागि चाँदी पोर्टफोलियो विविधीकरणको राम्रो माध्यम बन्न सक्छ । सुनको मूल्यमा आउने उतारचढावलाई सन्तुलनमा राख्न चाँदीले महत्वपूर्ण भूमिका खेल्न सक्ने विज्ञहरु बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा पनि चाँदीको माग बढिरहेकाले यसको मूल्यमा राम्रो वृद्धि देखिन सक्ने उपाध्यक्ष शाक्य बताउँछन् ।

‘प्रविधिको विकाससँगै यसको औद्योगिक माग अझ बढ्ने सम्भावना छ, जसले गर्दा यसको बजार मूल्यमा सकारात्मक प्रभाव पर्नेछ । चाँदीको प्रयोगले ऊर्जा ह्रास घटाउने र प्रवाहलाई प्रभावकारी बनाउने भएका कारण सोलार प्यानल, विद्युतीय सवारी, स्मार्ट ग्रिड जस्ता प्रविधिमा चाँदीको प्रयोग अपरिहार्य मानिने गरिएको विज्ञहरु बताउँछन् । जस कारण पछिल्ला वर्षहरूमा चाँदीको माग उल्लेखनीय रूपमा बढेको हो ’ उनले भने ।
अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यले कीर्तिमानी रेकर्ड कायम गरेको छ । यसरी चाँदीको मूल्य बढ्नुमा अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउने अपेक्षा र प्रविधि उद्योगमा भएको चाँदीको उच्च मागलाई प्रमुख कारण मानिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणीकरत्न शाक्यले बताएका छन् ।

‘अमेरिकी कर नीति र विश्व आर्थिक अवस्थाबारे चिन्ताले सुनको मूल्य पनि रेकर्ड कायम गर्दै आएको छ । ब्याजदर घट्दा र अमेरिकी डलर कमजोर हुँदा लगानीकर्ताले सुन र चाँदीजस्ता धातुमा लगानी बढाउने गर्छन् । अमेरिकी फेडरल रिजर्भले फेरी ब्याजदर घटाउने भएको छ । यसरी ब्याजदर घट्दा बैंकमा पैसा राख्ने वा छोटो समयमा नाफा कमाउने सम्पत्ति किन्नु फाइदाजनक नहुने भएकाले व्यापारीले धातुजन्य सम्पत्ति किन्न सुरु गर्छन्’ उनले भने ।

चाँदीको मूल्य तीव्र वृद्धि हुनुको पछाडी सुनको मूल्यमा आएको ठुलो छलाङले पनि प्रभाव पारेको हुनसक्ने उनी बताउँछन् । कुनै वस्तुको मूल्य महँगिदा लगानीकर्ताहरूले तुलनात्मक रूपमा सस्तो विकल्प खोज्ने हुनाले यस्तो अनुमान गरिएको हो ।

‘प्रविधि उद्योगबाट आएको बलियो माग आपूर्तिभन्दा धेरै भएपछि चाँदीको मूल्य अझै माथि उचालिएको छ । यसले गर्दा यो वर्ष चाँदीको मूल्य दोब्बरभन्दा बढीले बढेको छ । चाँदीको मूल्य करिब १०० अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।’ पूर्व अध्यक्ष शाक्यले भने ।

‘लगानीको हिसाबले सुनजस्तै गरी बढे पनि चाँदीको मूल्य बढ्नुको अर्को मुख्य कारण आइटीसँग सम्बन्धित कम्पनीले माग बढाउनु रहेको छ ।’ उनले भने, ‘चाँदीले सुन वा तामाभन्दा विद्युत् प्रवाह राम्रो गर्ने भएकोले विद्युतीय सवारी र सोलार प्यानलमा चाँदीको प्रयोग गर्न थालिएको छ । ईभी बिक्री बढ्दै जाँदा चाँदीको माग अझै बढ्ने अनुमान गरिएको छ । सवारी साधनका अत्याधुनिक ब्याट्रीहरूमा झन् धेरै चाँदी आवश्यक पर्छ ।’

नेपाली बजारमा एक वर्षमा तीन गुणाले बढ्यो

पछिल्लो एक वर्षको अन्तरालमा नेपालीमा बजारमा चाँदीको मूल्य तीन गुणाले बढेको छ । गत वर्ष २०८१ पुस १४ गते प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदी २०८२ पुस १३ गते तीन गुणा बढी अर्थात् ४ हजार ८३५ रुपैयाँ पुगेको छ । यसरी चाँदीमा आएको वृद्धिले उपभोक्ताहरु चाँदीतर्फ आकर्षित भएका छन् । नेपालमा चाँदीमा लगानी गर्ने प्रावधान नभए पनि चाँदीका भाँडाकुडा बनाएर राख्ने गरेका छन् ।

सुन महँगिएपछि सुनको विकल्प बनेको छ चाँदी । थोरै रकममा पनि सजिलै बनाउन सकिने भएकाले नेपालीहरु चाँदीका गरगहना तथा भाँडाकुडामा आकर्षीत भएका हुन् ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार  ११ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।