नेप्सेको बर्गिकरणले लगानीकर्ता झनै अन्योलमा


नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गर्ने सूचीकृत कम्पनीको वर्गिकरणले लगानीकर्ता झनै अन्योलमा परेका छन । नेप्सेको वर्गिकरण अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक रिर्पोटका आधारमा २ वटा कम्पनी मात्रै ए वर्गमा परेपछि लगानीकर्तामा अन्योलता वढेको हो ।

नेप्सेले लगानीकर्तालाइ लगानीको निर्णय लिन सहयोग होस भनेर बर्गिकरण भएपनि यसले अन्योलता वढाएको एक लगानीकर्ता बताउछन् । “नेप्सेको वर्गिकरणमा समस्या हो वा सुचिकृत कम्पनीमा कजोरी छ भन्ने विषयलाई नेप्सेले स्पष्ट पार्नु जरुरी छ” ती लगानीकर्ताले भने, “सेयर बजारको ब्लु चिप मानिएको नबिल बैंक र बन्द भैसकेको गोरखकाली रबर उद्योग एउटै समुहमा परेपछि कसरी विश्वास गर्ने ?”
तेस्रो त्रैमासको वर्गिकरणमा बी वर्गमा कुनै पनि सूचीकृत कम्पनी अटाउन सकेनन् ।

नेप्सेले जारी गरेको नयाँ वर्गिकरण अनुसार ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मात्र ए वर्गमा परेका छन् । एउटा विकास बैंकसहित ३४ वटा कम्पनी नेप्सेको जी वर्गको वर्गिकृत छन् । यस्तै जेड समूहमा चालू अवस्थामा नरहेका कम्पनी समेत गरेर १७० कम्पनी परेको नेप्सेले जनाएको छ ।

धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार वर्ग ए मा रहने संगठित संस्थाको कम्तीमा एक अर्ब चुक्ता पूँजी भई सञ्चालन भएको तीन वर्ष पूरा भएको, तीन वर्षदेखि नाफामा रहि लाभांश बाँडेको, क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त गरेको, तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरेको हुनुपर्ने व्यवस्था रहेको छ । त्यस्तै नेप्सेमा सूचीकृत भएको कम्तीमा २ बर्ष पूरा भएको हुनुपर्छ ।

वर्ग ए जस्तै वि पनि तोकिएको प्रावधान पूरा भएको कम्पनी मात्र पर्ने गर्दछन् । वि वर्गमा पर्ने कम्पनीले ५० करोड चुक्ता पूँजी कायम गरेको, सूचीकृत भएको कम्तीमा तीन बर्ष भएको, विगत तीन वर्षमा दुई आर्थिक वर्ष नाफा गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट कम्तीमा औसत भन्दा एक तह मुनीको रेटिङ्ग प्राप्त गरेको र सञ्चित नोक्सानी नभई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्छ ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ (६) (ग) मा सूचीकृत भएका कम्पनी २ वर्ष पूरा नभएसम्म जी वर्गमा राखिने उल्लेख छ । यसरी जी वर्गको वर्गिकरणमा पनि समावेश हुन नसक्ने कम्पनी जेड वर्गमा पर्ने छन् ।
सूचीकृत संगठित संस्थाको वर्गिकरण गर्दा लगानीकर्ताले जोखिमको स्तर अनुमान गर्न सक्ने नेप्सेको दाबी छ । सोही अनुसार लगानीकर्ताको कारोबारलाई सहजीकरण गर्न वर्गिकरण आवश्यक छ ।

तर, राम्रा मानिएका वाणिज्य बैंकहरू सहित लामो समयसम्म कारोबार नभएका कम्पनी पनि एउटै वर्गमा अटाए पछि वर्गिकरणले लगानीकर्तालाई खासै फरक नपार्ने स्पष्ट हुन्छ ।

तेस्रो त्रैमासको वर्गिकरण अनुसार लामो समयसम्म कारोबार नभएका बुटवल स्पिनिङ मिल, गोरखकाली रबर उद्योग, ज्योति स्पिनिङ मिल्स, अरूण बनस्पति उद्योग लयागतका कम्पनी र नियमित साधारण सभा गर्दै आएका वाणिज्य बैंक, बीमा, र लघुवित्त कम्पनीहरु पनि एउटै समूहमा वर्गिकरणमा परेका छन् ।

धितोपत्र बोर्डले गत साउन १ गतेदेखि धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५ लागू गर्दै सूचीकृत कम्पनीहरुलाई ए, वि, जी र जेड गरी चार वर्गमा वर्गिकरण गर्ने व्यवस्था गरेको थियो । सोही अनुसार नेप्सेले सूचीकृत कम्पनीहरुलाई तोकिएका विभिन्न प्रावधानहरुबाट मूल्याङ्कन गरि वर्गिकरण गरेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेप्सेले सूचीकृत २०६ कम्पनिहरुलाई वर्गिकरणमा समेटेको छ ।